जुम्ला : तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा पुजा गर्ने प्रचलन अनुसार जुम्लाबाट पुजाआजाको डोलीसहित जिल्ला प्रशासन कार्यालय जुम्लाका एक कर्मचारी नेतृत्वको टोली बडिमालिकातर्फ प्रस्थान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा बिष्णु महतको नेतृत्वको ५ जनाको टोली र भक्तालुहरु त्यसतर्फ प्रस्थान गरेका हुन । बडिमालिकामा टोली प्रस्थान गर्नु पुर्व जिल्ला प्रशासन कार्यालय अगाडी रहेको दरबार मालिकाको पुजाआज गरिएको थियो ।
नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, चन्दननाथ बाबा र दरबार मालिकाको सलामी अर्पणपछि टोलीलाई विदाइ गरिएको हो । जिल्ला प्रहरी कार्यालय भित्र रहेको बडिमालिका माईको मन्दिरमा पुजाआजा गरेपछि नेपाली सेना र सशस्त्र प्रहरीद्धारा सलामी अर्पण गरिएको थियो ।
नागपञ्चमीका दिनमा बडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोली त्यस तर्फ प्रस्थान गरेको संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्यले बताए । विहिबार प्रस्थान गरेको टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पुजाआजा गरेर खलंगामै फर्कने चलन भएको आचार्यले बताए ।
परम्परादेखि अञ्चलाधिस कार्यालयको माताहातमा चलिआएको पुजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको मातहतमा चल्दै आएको छ ।
बढिमालिका माईको पुजाआजा गरेर मनको इच्छा पुरा हुने धार्मीक विश्वास रहेको छ । शुक्रबार बिहानै बडिमालिका माई र चन्दननाथ भैरवनाथको मन्दिरमा पुजाआजा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि रहेको दरबार मालिकाको मन्दिर वाट कृष्ण मन्दिर परिक्रम गरी जिल्ला प्रहरी कार्यालयमा गएर नेपाली सेना, नेपाल प्रहरीको सलामीपछि टोली बडिमालिका गएको हो ।
टोलीलाई प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइ र नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सरकारी प्रमुख, राजनैतिक दल, र स्थानीयहरुले अक्षता र ध्वजा दिएर विदाइ गरेका छन् ।
तत्कालिन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन थियो । उक्त टोली कृष्ण अष्टमीको अघिल्लो दिनमा फर्किएपछि भोलिपल्ट लाख्य काट्ने चलन जुम्लामा छ ।
तर यस वर्ष कोरोनाका कारण लाख्य नाथ लगाउने प्रसशानले जनाएको छ । विदाइ गर्न आएका स्थानीयले आफ्नो मनको इच्छा पुरा हुने आशमा अक्षता नासो पठाउने गर्छन् ।
हजारौको संख्यामा विदाइ गर्न आएकाहरुले टोलीको यात्रा सफल हुनुको साथै जुम्लाका सम्पुर्ण काममा सफलता मिल्ने कामना गर्ने गरेका छन् । जुम्लावाट लिएको अक्षता, फुलपाती बडिमालिकामा लिएर चढाइन्छ् ।
शुक्रबार दिउँसो हिँडेको टोली तातेपानीमा बस्ने गरेको छ । जिल्ला प्रशासन कायालय जुम्लाको नेतृत्वमा वर्षको एक पटक भगवतिको दर्शन गर्न जाने परम्परा रहेको छ । उक्त अवसरमा नेपाली सेनाको नन्दाबक्स गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी बलको टोलीले बाजागाजासहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई बाजा, डोल बजाएर बिगुल फुकेका थिए ।
जिल्ला प्रसाशन कार्यालय जुम्लाबाट सुरु भएको टोली जुम्ला बजार परिक्रम गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेर अन्तिम सलामी अर्पणपछि नेपाली सेनाको टोली फर्किएको थियो । बडिमालिका भगवतीको लागी जिल्ला प्रसासन कार्यालय जुम्लाबाट वर्षको एक पटक गहना बनाएर पठाउने गरिन्छ ।
यस पटक पनि भगवतीको लागी सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाएको जिल्लाप्रशासन कार्यालयले जनाइएको छ ।
सबै सामग्री भगवतीलाई चढाएपछि मात्रै चन्दननाथ मन्दिरमा ल्याएर चढाउने गरिन्छ । त्यस्तै सोही अवसरमा खलंगामा लाख्य नचाउने चलन छ । तर यस पटक कोरोनाको महामारीले गर्दा खलंगामा लाख्य भने लाग्ने छैन । बडिमालिकाको डोली पठाउनको लागि दर्शनालुहरु खलंगामा जम्मा भएका थिए ।