सिमकोट : पैतालीस सयदेखि पाँच हजार मिटर अग्ला पाटनमा रहेका चौँरी गाईका गोठ सार्न किठिन हुने गरेको छ । हिमालबाट हिउँ पग्लेर बनेका हिमनदी र खोलाहरुमा पुलको व्यवस्था नहुँदा खोला तर्नु पर्ने बाध्यता आएको छ । यसले गर्दा जोखिम समेत बढेको छ ।
नाम्खा गाउँपालिका–६ हिमालपारीको लिमीको हल्जी गाउँका फुर्बा तामाङले हिमनदी र खोलामा पुलको व्यवस्था नहुँदा चौँरी पालनमा समस्या देखिएको जानकारी दिए । बर्खाको समयमा पाँच हजार भन्दा अग्ला पाटनमा चौँरीको गोठ सार्नका लागि खोलै तर्नुपर्ने भएपछि जोखिम उठाएर खर्कालाहरु काम गर्न बाध्य हुँदै आएका छन् ।
उनले पुल नभएपछि खोला तर्दा चौँरीका बाच्छा बगाउने, खर्कालाका सामान खस्ने, गोठालालाई पनि पानीले बगाउने उच्च जोखिम देखिएपछि चौँरी पालन व्यवसाय नै विस्थापित भएको हो ।
गत वर्ष सात वटा चौँरीका बाच्छा पानी तर्ने क्रममा बगाएको थियो । केही समय अगाडी लिमीमै खर्काला हिमनदी तर्ने क्रममा बगाएर बेपत्ता भएका थिए । दुई वर्षयता आएर सरकारी तथा गैससको समन्वयमा चौरी पालन व्यवसाय पूनः सुरु भएको छ ।
खर्काला समेत घोडामा चढेर खोला तर्ने गर्छन । यसबाट पहिले दश हजार भन्दा बढी चौँरी भएको लिमीमा त्यो संख्या घटेर तीन सयमा झरेको थियो । चौँरी गाईलाई अग्ला पाटनमा लिनु पर्ने, दुख बढी हुने, चौँरी पालनबाट उत्पादन भएका सामान पनि खोला तर्दा बग्ने वा भिज्ने, कुनै समय ज्यानैको जोखिम पनि हुने भएपछि चुनौतीबिच यो व्यवसाय अगाडी बढ्न खोजेको छ ।
मुख्य गरि हिमनदी र खोला तर्नु गोठालाहरुको मुख्य समस्या भएको बताइन्छ । ठाउँ ठाउँमा पुलको व्यवस्था गर्न माग गरेपनि हालसम्म समस्या समाधान हुन नसकेको गुनासो खर्कालाहरुको छ ।
उच्च पाटनका चौँरी पालनलाई फस्टाउनका लागि पुल र खर्क जाने बाटो निर्माण गर्नु आबश्यक रहेको गोठालाहरुको माग रहदै आएको छ । लिमी भ्यालीमा मात्र बीस हजार चौँरी गाई पालन गर्न सकिने चरन क्षेत्र रहेको छ । खर्कालाको चौरी पालनलाई फस्टाउनका लागि आबश्यक पूर्वाधारको बिकासमा जोड दिनु पर्ने माग छ । लिमी व्यवसायीक चौरी पालनका लागि निक्कै सम्भावना भएको क्षेत्र हो ।