काठमाडौ । सुर्खेत घाटगाउँको सरस्वती माविका कार्यालय सहयोगी नवलसिंह विकका बुवाको निधन भएको छ । उनका बुवा गोरे विकको ९० बर्षको उमेरमा २०७७ साल बैशाख ४ गते बिहीबार बिहान निधन भएको हो । पछिल्लो समय बुढ्यौलीका कारण उनलाई श्वासप्रश्वासमा समस्या थियो ।
उनका तीन छोरा छन । जेठा छोरा रिन विक, माइला छोरा धन र कान्छा छोरा नवलसिंह विक हुन । धनका जेठा छोरा खगेन्द्र विक अहिले सरस्वती माविकै लेखापाल छन । खगेन्द्रका भाई कृपाराम अस्पतालका रेडियोलोजिष्ट हुन ।
लकडाउनले सास्ती
तीन छोरा भएपनि अहिले लकडाउनका कारण उनको दाहसंस्कारमा सास्ती भएको छ । जेठा छोरा रिन कैलाली लम्कीचुहा नगरपालिकामा बसोबास गर्छन । केही दिनअघि मात्रै लम्की चुहाँ नगरपालिकामा दुई जना संक्रमित फेला परेका थिए ।
उनीहरुको धनगढीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । लम्कीचुहामा दुई जना संक्रमित फेला परेपछि नगरपालिकाले लकडाउनका साथै आवतजावतमा पूर्ण रुपमा कडाई गरेको छ ।
केही समयअघि चौकुने गाउँपालिकाले कैलालीसँगका सीमा जोडिएका सबै झोलुंगे पुल, डुंगा र फेरिको आवतजावत बन्द गरेको थियो । लकडाउनका कारण सीमा र आवतजावत बन्द भएपछि आफ्ना बुवाको दाहसंस्कारमा घाटगाउँ आउन नवलसिंहका जेठा दाजु रिनलाई हम्मे हम्मे परेको छ ।
माइला छोरा धन भारतमा रहेको र जेठा छोरा रिन पनि टाढा भएपछि कान्छा छोरा नवलसिंहले नै काजकिरिया गर्ने तयारी छ । गाउँमा यसअघि कोही व्यक्तिको मृत्यु वा निधन हुँदा शोकमा सयौ हजारौको सहभागिता हुन्थ्यो । तर अहिले लकडाउनका कारण मुश्किलले १० देखि २० जना मात्रै सहभागि हुनुपर्ने बाध्यता छ ।
कोरोना भाइरसको महामारीका कारण सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन बैशाख १५ गतेसम्म लम्ब्याइएको छ । नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण हुँदा सुर्खेतको छिमेकी जिल्ला कैलालीमा मात्रै ५ जना संक्रमित छन ।