काठमाडौँ : गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ निकै छिटो धेरैको मुखमा झुण्डिएको छ । युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियोले अहिलेसम्म ६० लाख बढीले हेरिसकेका छन् ।
प्रकाश सपुतको रचना÷सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका छन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ । अभिनेत्री खड्का र शर्मालाई मुख्य पात्रका रुपमा प्रस्तुत गरिएको छ ।
यो गीत सफल भएपछि प्रकाश सपूतलाई फेरि एकपटक वर्तमान नेपालको उत्कृष्ट गायकका रुपमा हेर्न थालिएको छ । वास्तविक रुपमा कुरा बुझ्न पर्च गीत कसरी सफल भयो त ? केही कारण यस्ता छन्ः
ब्राण्ड बनेको प्रकाश सपूत नाम
पछिल्लो समय उनको नाम नै ब्राण्ड बनेको छ । प्रकाश सपूतले जुन गीत ल्याएपनि उनले कस्तो गीत ल्याए भनेर मानिसहरु हेर्न थालेका छन् । उनको गीत राम्रो नराम्रा जे जस्तो भएपनि हेर्नैपर्ने मानिसहरुको उत्सुकताका कारण उनी बढी चर्चामा छन् ।
उनको नामको गीतमा लाखौँ भ्युज आउने गरेको छ । यो गीत सफल हुनुका पछाडि बोलमाया, गलबन्दी, बदला बरिलै लगायत गीतको सफलता र चर्चा नै हो । यी गीतबाट आफ्नो ब्राण्ड बनाएका प्रकाशले यसैकारण अहिले सफलता चुमिरहेका हुन् ।
मौलिक भाकामा गाउँघरकै कथा
उनको गीत सफल हुनुका पछाडि नेपाली जनजिव्रोमा झुण्डिएको भाका र शब्द चयन हो । पछिल्लो समय उनले कुरा बुझ्न पर्च गीतमा मौलिक भाकाको लय समातेका छन् । अनि मानिसहरुले कुरा बुझ्न पर्च भन्ने शब्दलाई जस्ताको तस्तै राखेका छन् । यसले गर्दा पनि उनको गीत बढी सफल देखिन्छ ।
उनले प्रेम, विवाह, छोराछोरी पाउने कुरा, सामाजिक व्यवहार, चलन र स्वभावका बारेमा गीत चर्चा गरेका छन् । सामाय कुरालाई पनि गीतबाट बुझाउन सकिन्छ भनेर उनले प्रयोग गरेका छन् । त्यसैले पनि बोलीचालीकै भाषा भएका कारण यो गीत सफल भएको हो ।
युवापुस्ताको रोजाई र चाहना
पछिल्लो समय युवा पुस्ता आफूले चाहेको काममा अगाडि बढ्न चाहन्छन् । युवाहरु नयाँ नयाँ विषयमा रिस्क उठाउन चाहन्छन् । अनि आफूलाई मन परेका कुरा प्राप्त गर्न पनि चाहन्छन् । तर त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि जानकार हुन चाहन्छन् ।
यसका लागि उनले गीतको सहारा लिएका छन् । युवा पूसता क्षमतावान छन भन्ने कुरा पनि उनले गीतबाट देखाउन चाहेका छन् । जुन कुराले गर्दा पनि यो गीत धेरैको रोजाईमा परेको हो ।