नयाँ संविधान, संघीयता र गणतन्त्र आएपछि राज्य पुन संरचना भयो । राज्य पुन संरचना भएसँगै स्थानीय तह बने । स्थानीय तहको चुनाव भयो । जनप्रतिनिधि आए । अहिले जनप्रतिनिधिले आ आफ्नो ठाउँमा काम गरिरहेका छन् ।
लेकबेसी नगरपालिका स्थापना भएदेखि अहिलेसम्म हामीले पनि सकेको काम गरिरहेका छौँ । सुर्खेतकै कान्छो नगरपालिकाका रुपमा स्थापित यो लेकबेसीको स्थापना, पूरानो इतिहास, यसको विरासतदेखि यसको वर्तमान अवस्थासँग परिचित छु ।
नगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि अहिलेसम्म हेर्दा विभिन्न परिस्थितीसँग जुध्नुपरेको कुरा जगजाहेरै छ । सुरुमा नगरपालिका बनाउन संघर्ष गर्नुपर्यो । सुर्खेतबाट निर्वाचित सांसद यामलाल कँडेल, ध्रुव शाहीले यो नगरपालिका बनाउन ठूलो भूमिका खेल्नुभयो । त्यस्तै सीता नेपाली, पूणबहादुर खड्का लगायतको भूमिका पनि महत्वपूर्ण छ ।
नगरपालिकाको प्रमुखमा निर्वाचित भएका पछिल्ला चार वर्षमा हामीले अरुभन्दा केही फरक काम गर्यौ जस्तो लाग्छ । यद्यपी पहिलो वर्ष सिकाईमै जाँदा दोस्रो र तेस्रो वर्ष कोरोनाले समस्या ल्यायो ।
अहिले पनि कोरोनाकै कारण काम गर्न सकिएको छैन । तर पनि यसबीचमा हामीले केही महत्वपूर्ण काम गरेका छौँ । जुन यसप्रकार छन्ः
१. सुरुमा हामीले लेकबेसी नगरपालिकाका सबै वडामा सडक सञ्जाल पुर्याउने काम गरेका छौँ । सुरुमा सबै ठाउँमा सडक पुगेको थिएन । अहिले सबै वडा, गाउँ बस्तीमा सडक सञ्जाल जोडिएको छ ।
२. सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न स्वयंमसेवक शिक्षक सुरु गर्ने काम गर्यौ । कतिपय ठाउँमा मावि चलेपनि शिक्षकको दरबन्दी नहुँदा समस्या थियो । त्यस्ता ठाउँमा स्वयंमसेवक शिक्षक करारमा नियुक्त गरेर विद्यालयको शैक्षिक गुणस्तर बढाउने काम गरेका छौँ ।
३. विद्यालयका कतिपय भवन निर्माण गर्ने काम गरेका छौँ । केही भवन पुनर्निर्माण, केही नयाँ र केही अहिले भएका भवनको स्रोन्नोती गर्ने काम गरेका छौँ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहको बजेट लगानी गरेका छौँ ।
४. सरकारकै बजेटमा स्वास्थ्य सेवा केन्द्रको गुणस्तर सुधार्ने काम गरेका छौँ । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने काममा पनि नगरपालिकाबाट केही काम गरेका छौँ । जुन स्थानीय स्तरमा राम्रोसँग देख्न सकिन्छ । यसका लागि पनि केन्द्र, प्रदेश र स्थानीय तहको बजेट खर्च भएको छ ।
५. स्वास्थ्य सेवा अन्तर्गत सहरी स्वास्थ्य एकाई सुरु गरेका छौँ । यसले थोरै भएपनि गम्भीर प्रकृतिका बिरामीका लागि समयमै अस्पताल पुग्नदेखि आवश्यक सहयोग गर्ने कुरामा नगरपालिका जिम्मेवार भएर लागेको छ ।
६. बिरामीका लागि एम्बुलेन्स किन्ने काम नगरपालिकाबाट भएको छ । बाटो बनाउन जेसिबी पनि नगरपालिकाले आफ्नै लगानीमा किनेको छ । नगरपालिकाकै लागि प्रमुख, उपप्रमुखका लागि गाडी पनि किनिएको छ ।
७. लेकबेसीमा पहिलो पटक केन्द्रको एक करोड र नगरपालिकाको एक करोड गरेर दुई करोड बजेटमा बोयर बाख्रा केन्द्र निर्माण गर्न सफल भयौँ । तर दुःखको कुरा हामीले भनेजस्तो बाख्रा र टेन्डरमार्फत उन्नत जातका बाख्रा ल्याउने फार्म पाउन सकेनौँ । टेन्डर गर्दा पनि कसैले पनि चाँसो देखाएनन् । यस्तै भैँसीका लागि पनि टेन्डर गरेका थियौँ । उन्नत जातका भैँसी किसानलाई दिएर दुध उत्पादन बढाउने काम गरेका छौँ । तर सोचेजति यो कार्यक्रम प्रभावकारी हुन सकेन । किसानलाई व्यवसायिक बाटोमा लैजान डेरी निर्माण गर्ने काम भयो । दुध उत्पादन बढाउने काम भयो ।
८. अपांगता भएका व्यक्तिलाई परिचय पत्र दिने काम भयो । जेष्ट नागरिकलाई पनि परिचयपत्र बनाउनेदेखि भत्ता दिलाउने काममा नगरपालिकाले सहजीकरण गर्ने काम भयो । यसमा थोरै बजेटले धेरै काम गर्न सकिएन ।
९. डेढ करोड लगानीमा लेकबेसी नगरपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएका छौँ । यो पछिका लागि पनि राम्रो काम हो ।
१०. लेकबेसी नगरपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्न सफल भएका छौँ । शान्ति सुरक्षाका लागि प्रहरीको आवश्यकता परेकाले इलाका प्रहरी कार्यालय नै स्थापना गरिएको हो ।
यी माथि उल्लेखित काम हाम्रो क्षमता, बलबँुताले भ्याएसम्म गरेका हौँ । यी काम गर्दा सहज भएन । सजिलो थिएन । जति काम भयो । त्यो पर्याप्त पनि होइन । यसअघि सार्वजनिक सुनुवाइ गरिएको थियो । तर कोभिडले गर्दा पछिल्लो वर्षको सार्वजनिक सुनुवाइ गर्न सकिएको छैन । काम गर्ने योजना धेरै भएपनि कोभिड महामारीले गर्दा सकिएन ।
यसबाहेक लेकबेसीमै क्याम्पस बनाउने योजना थियो । तर अलपत्र छ । यो कामका लागि धेरै प्रयास गर्दा पनि सकिएको छैन । यसबाहेक विदेश जानेलाई भन्दा स्वदेशमै केही गर्नेलाई नगरपालिकाबाट विशेष योजना ल्याउने सोच पनि थियो । तर सीमित स्रोत साधनले त्यो गर्न सकिएको छैन ।
(लेकबेसी नगरपालिकाका मेयर सुनारसँग गरिएको कुराकानीमा आधारित)