जुम्ला : संसारको सबैभन्दा उच्च भागमा फल्ने कालीमार्सी धान अहिलेसम्म सूचीकृत छैन । समुद्र सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्रै फल्ने धान सूचीकृत नहुँनु विडम्बना हो । मानव स्वास्थ्यका लागि लाभदायक मानिने यो अन्नबाली केही समयदेखि नेपाली बजारको आकर्षण पनि बनेको छ ।
तत्कालिन राजा महाराजाहरुले खाने र उच्चकोटीको अन्नका रुपमा हेर्ने कालीमार्सीलाई त्यस समयको मात्र नभएर यतिबेला पनि विशेष महत्वको रुपमा लिने गरिन्छ । मूल्यका हिसाबले हुनेखाने र उत्पादक किसानबाहेक सजिलै यो चामल सामान्य वर्गको पहुँचमा त्यति हुँदैन । अहिले पनि शक्तिशाली र उच्च ओहदाका व्यक्तिहरु बढी खानेगरेका छन् ।
बाहिरी जिल्लामा जाँदा विशिष्ट व्यक्तिहरुको आहाराको प्रमुख परिकार बन्ने गरेको चर्चा छ । यो मार्सी अर्गानिक हिमाली उत्पादनका रुपमा पनि परिचित छ जुम्लीमार्सी धान ।
यसको मूल्य जुम्ला बजारमा १ सय ७० रुपैया पर्ने गरेको छ । अरु चामलभन्दा भने महङ्गो छ । कालीमार्सीको खाना, त्यसको स्वाद, प्राप्त हुने पौष्टिक तत्व र ऐतिहासिक वर्णन एवं कथन पनि सामाजिक सञ्जालहरु पनि त्यत्तिकै रङ्गिए ।
अधिकतम गुणात्मक महत्व बोकेको जुम्ली मार्सीलाई भने मुलुककै जेठो धानबालीका रुपमा ठानिँदै आएको छ । अर्कोतर्फ विश्व मानचित्रमा विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थानका रुपमा जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलो कालीमार्सी धान भन्ने निकै प्रख्यात छ ।
नेपाल कृषि अनुसन्धान परिषद्, खाद्य अनुसन्धान विभाग, खुमलटार (२०२०) को तथ्याङ्कअनुसार जुम्ली मार्सी धान र अन्य रैथाने तथा उन्नत जातका धान (खुमल–४) सँगको तत्वहरुसँग तुलना गर्दा प्रोटिन, पोलिफिनोल, एन्टिअक्सिडेन्ट र फ्ल्यावोन्वाइड कालीमार्सीमा धेरै मात्रमा पाइने गर्दछ । अन्य धानभन्दा जुम्ली मार्सीमा फाइबर पनि बढी पाइने भएकाले स्वास्थ्यका हिसाबले अधिकतम उपयोगी मानिन्छ ।
तर कृषि अनुसन्धान केन्द्र बजियनगर जुम्लाले भने, मार्सीधान दर्ता नभएको र यसपटक दर्ताको लागी सिफारिस गरेको बताएको छ ।
कालीमार्सी धानमा प्रोटिन र सूक्ष्म तत्वहरु (आइरन, फोस्फरस) , पोलिफिनोल र एन्टिअक्सिडेन्ट धेरै मात्रमा पाइने गरेको कृषि अनुसन्धान केनद्र जुम्लाका प्राविधिक अधिकृत हरिनारायण मण्डलले बताए ।
“जुम्ली मार्सीमा पाइने पोलिफेनोल र फ्ल्यावोन्वाइडले मानव तन्तुहरुलाई सक्रिय बनाउछ’ उनले भने, “यसैले यो धानले मानव तन्तुलाई नष्ट हुनबाट जोगाउँछ ’ ।
कालीमार्सी धानको सामाजिकमात्र होइन, सांस्कृतिक, धार्मिक महत्व र उपयोग पनि उत्तिकै रहेको छ । ऐतिहासिक गाथालाई केलाउँदा गुरु चन्दननाथ बाबाले बिजारोपण गरेको उच्चकोटीको धान बालीका रुपमा चिनिन्छि ।
चन्दननाथ बाबाको तत्कालिन तपस्या र आजको अनुसन्धानबाट यसको प्रतिपादन भएको संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन् ।
‘केहीले इतिहासलाई तोडमोड गरेर कालीमार्सी धान भारतको कश्मीरबाट ल्याएको भनेका छन् । यो नितान्त गलत हो,”आचार्यले भने ,“गुरु चन्दननाथ बाबाको आफ्नै तपस्या र खोजबाट यसको जुम्लामै उत्पादन भएको हो ।”
यसबारे इतिहासकार राजाराम सुवेदीले ‘जुम्लाको मध्यकालीन इतिहास’ मा चन्दननाथ बाबाले विसं १४५० तिर जुम्ला राज्य खडा गर्दा तत्कालीन राजा बलिराज शाहीलाई यही कालीमार्सी धानको चामलले राजतिलक (टीका लगाएको) उल्लेख गरिएको उनले बताए ।
उनी भन्छन, ‘त्यस्तै, साके संवत् १५१५ मा हरिदास भन्ने विद्वानले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । ’
किंवदन्ती अनुसारपछि गुरु चन्दननाथ बाबाको उपदेश लिएर लक्षालकृति पैकलाले तातोपानीको गुरु फोक्टोबाट कालीमार्सी धानको शुरुवात गरिएको र त्यो पछि साविकको कर्णालीका अन्य जिल्लामा पनि फैलिएको भन्ने कथन ऐतिहासिक लेखहरुमा पाइन्छ ।”
यसको उत्पत्ति गरिब ५५० वर्ष पहिले भएको जनाउँदै संस्कृति सम्बन्धी जानकार आचार्यले ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक परिचय बोकेको साथै उत्पत्तिको लामो कालखण्ड पार गरेको अति महत्व एवं गरिमाको कालीमार्सी धानको स्वामित्वको अधिकार ‘प्याटेन्ट राइट’ आजसम्म पनि कायम हुन नसक्नु दुःखद कुरा भएको उनको प्रतिक्रिया छ ।
पछिल्लो समय जुम्लामा रैथाने अन्नबाली उत्पादनको लागी सबै तह लाग्न थालेका छन । जलवायु परिवर्तन र पछिल्लो समयमा विभिन्न विषादीको प्रयोगले यसको अस्तित्व सङ्कटमा पर्न थालेको डर बढाएको छ ।
संरक्षण र संवर्द्धनमा त्यति ध्यान दिइएको पाइँदैन । हाम्रो स्वामित्व ग्रहण अर्थात् कालीमार्सी धानको स्वामित्वको अधिकारलाई सुरक्षित गर्न सरोकारवालको बेलैमा ध्यानजान जरुरीछ ।
जनशक्ति अभावमा थलिँदै.....
कृषि अनुसन्धान केन्द्र जुम्लाका प्राविधिक अधिकृत हरिनारायण मण्डल भन्छन् ‘ वर्खेबाली चिनो , कागुनो, फापर, मकै , कोदो , मार्सिधान , गहत र सिमी अनुसन्धान भइरहेको छ । भने , हिउँदे बाली जौ गहुँ, मुसुरो, चौली जौ अनुसन्धान हुने गरेको छ ।
मण्डलका अनुसार चन्दननाथ–१ ३ र लेकाली १ र ३ हजार ४८, १ के ३, ७, ९ र जुम्लीमार्सी , धान यस पटक सिफारिस गरिदैछ । त्यस्तै सिमी केबिएल १,२,३ सिफारिस गरिएको मण्डलले जानकारी दिए ।
मण्डल भने, ‘कृषि अनुसन्धान केन्द्र जुम्लामा सम्वन्धित बाली विज्ञ छैनन् । तर दक्ष जनशक्ति र अनुसन्धानको लागी चाहिने आवश्यक प्रक्रिया थलिएको छ । कृषि अनुसन्धान केन्दसँग १।२ हेक्टर मात्रै अनुसन्धानको लागी बाली उत्पादन गर्ने जग्गा छ ।
एक हेक्टरमा कृषि अनुसन्धान केन्दका क्वाटरहरु निर्माण भएका छन् । प्राविधिक अधिकृत मण्डलका अनुसार कृषि अनुसन्धान केन्द्रलाई २० देखि २५ हेक्टरसम्म जग्गा आवश्यक पर्छ ।
जुम्ली कालीमार्सी धानको ‘प्याटेन्ट राइट’ सुनिश्चित गर्ने हेतुले पछिल्लो समयमा कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले सिफारिसका लागि कार्य अगाडि बढाएको छ ।
यसलाई बीउ बिजन गुणस्तर तथा नियन्त्रण केन्द्र काठमाडौँले सूचीकृत गर्ने भएको छ । सूचीकृत नभएकै कारण अहिलेसम्म जुम्लाले कालीमार्सी धानमा आफ्नो स्वामित्वको अधिकार 'प्याटेन्ट राइट' कायम राख्न सकेको छैन ।”
कालीमार्सीको उत्पत्ति नै जुम्लामै भएको दाबी गर्दै यसको ‘प्याटेन्ट राइट’ लिन सरोकारवालाले जतिसक्दो छिटो पहल गर्नुपर्ने हो तर त्यो भएको छैन । कोरोनाका कारण प्रस्तावना पेश गर्न ढिलाइ भएको अनुसन्धान केन्द्रले बताएको छ ।
त्यस्तै केबिएल १ र ३ जातको सिमी पनि नियन्त्रण केन्द्रमा दर्ताका लागि सिपासि गरिएको अनुसन्धान केन्द्र बिजय जगर जुम्लाले जनाएको छ । जुम्लामा १२ जातका सिमी परीक्षण गरिरहेको छ ।
सिमीको ‘प्याटेन्ट राइट’का लागि पनि प्रस्ताव अगाडि बढाउन थालिएको बताए । उनका अनुसार केबिएल १,२,३, पिबि००–१ र पिबि००–४८ को धान उत्पादन भइरहेको छ । ब्लाष्ट रोग नलाग्ने चन्दननाथ–१ कालो धान बढी उत्पादन हुन्छ । लेकाली–१ र ३ धान पनि उत्पादन भइरहेको छ ।