खलंगा : जुम्लाका किसानले बनाएको बगैंँचामा जनप्रतिनिधिको अनुगमन गर्ने गरिरहेका छन् । जुम्लामा व्यवसायिक ओखर खेती गरिरहेका किसानको बगैँचामा जनप्रतिनिधिको टोली पुग्ने गरेको छ ।
टोलीले किसानले ओखर खतीमा गरेको कामको बारेमा अनुगमन समेत गर्दै आएको छ । ओखर खेतीमा लाग्न किसानलाई उत्साहित गर्ने र व्यवसायिक किसान बन्न उत्प्रेरणा दिनको लागि जनप्रतिनिधि किसानको बगैँचामै पुगेका हुन् ।
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने,पातारासी गाउँपालिकाका अध्यक्ष लछिमान बोहोरा र उपाध्यक्ष पुन्नकली महताराको टोली ओखर बगैँचामै पुगेको थियो । टोलीले पातारासी गाउँपालिका ६ उर्थुचौतारास्थितमा ओखर प्रशोधन केन्द्रको अवलोकन गरेको छ ।
उर्थुममा रहेको ओखर नर्सरी धनि खड्का बुढाको नर्सरी हेरेको थियो । जनप्रतिनिधिको टोली बगैँचामै पुग्दा खड्का उत्साहित थिए। खड्का भन्छन्, ‘ओखर खेतिको लागि रकम नै हालिदिनुपर्छ भन्ने छैन । किसानकै खेतबारीमा पुगेर उर्जा थपे हुन्छ । ’
अनुगमनमा पुगेको टोलीले गुणस्तरीय ओखरको बिरुवा उत्पादन गर्न आग्रह गरेको थियो । त्यस्तै चन्दननाथ नगरपालिका – १० का ओखर व्यवसायी शंखुबहादुर खत्रीको ओखर बगैँचामा समेत जनप्रतिनिधिको टोली पुगेको छ ।
खत्रीले ३२ हजार क्षेत्रफल जमिनमा ओखर खेति गरेका छन् । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले किसानले ओखर खेतिमा देखाएको चासो निकै राम्रो भएको बताइन् ।
उनले भनिन्, ‘अव यी व्यवसायिक ओखर खेति गरिरहेकाहरुबाट अन्य कृषकले पनि सिक्न जरुरी छ।’ नगरपालिकाले बर्षेनी स्याउ ओखर किसानलाई सस्तो मुल्यमा उपलब्ध गराइरहेको मेयरले बताइन् ।
‘कृषि प्रवर्द्धनका लागि नीति बनाएका छौँ । किसान आत्मनिर्भर हुनुपर्ने र जीविकोपार्जनमा जोड दिइरहेका छौँ । किसानलाई प्रोत्साहित गर्न पुरस्कारको प्रवन्ध पनि गरेका छौँ ’ मेयर सेजुवालले भनिन्, ‘नगरपालिका किसानको साथमा छ ’ ।
ओखर भण्डारण र बजारीकरणमा सहज
स्याउ , आलु , सिमीको तुलनामा ओखर भण्डारण र बजारीकरणमा बढी खपत गर्न सकिन्छ। बजारीकरण भण्डारण र निर्यात गर्न सहज सहज पनि छ। ओखर खेति आफैमा अर्गानिक छ । विश्व बजारमा माग बढ्दो छ। स्वस्थकर पनि छ। ,‘त्यसैले व्यवसायिक रुपमा अघि बढेको शंखुबहादुर खत्रीले बताए ।
ओखर खेती नै किसानको आम्दानीको स्रोत
’तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कृषि क्षेत्रमा किसानले देखाएको कामको उच्च प्रशंसा गरे। उनले यहाँका किसानको ओखर बगैँचामा पुग्दा आत्मवल बढेको बताए । उनले भने, ‘कडा मेहनत गरे के हुदैन र भन्ने सन्देश दिएको भेटियो । तातोपानी गाउँपालिकामा ओखर पकेट क्षेत्र बनिरहेको छ । ’
हेल्भेटासको सहयोगमा सुर्य सामाजिक सेवा संघ जुम्लाको सहजीकरणमा मिठो परियोजना मार्फत ओखर पकेट क्षेत्र चलिरहेको छ। अध्यक्ष न्यौपानेले भने, ‘ओखर खेती प्रमुख आम्दानीको स्रोत बन्छ । गाउँपालिकाले बाँझो जग्गा राख्न नपाउने नीति लिएको छ। विषादी राख्न नपाउने जस्ता गरि कृषि रणनीति तर्जुमा गरेको छ। दुई वर्षसम्म निरन्तर जग्गा बाँझो रह्रे खेतिगर्न चाहने मान्छेलाई त्यो जग्गा उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ। बाँझो जग्गामा ओखर रोप्न प्रोत्साहित गरिनेछ। ’
तातोपानी र पातारासीमा ओखर प्रशोधन केन्द्र स्थापना
पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोराले किसानलाई पातारासी गाउँपालिकामा ओखर प्रशोधन केन्द्र स्थापना गरिएको बताए । जहाँ ओखरको तेल प्रशोधन हुन्छ । यो हेर्न लायक कार्य हो। रकम अभावका कारण कृषिमा विकास हुन सकेको छैन। उनले भने, ‘हामी कृषि नीति, रणनीति बनाउँछौँ। कार्यान्वयनका लागि रकम अभाव हुन्छ। अहिले सम्म खाली किसानलाई सिकाउने मात्रै काम गरिएको छ । ठुला व्यवसायिक किसान जन्माउन सकिएको छैन।’
उनले किसानलाई ,उर्जा दिने कार्यमा सबै हातेमालो गर्नुपर्ने बताए। उनले भने, ‘हाम्रो जुम्लामा उर्वरा भुमि प्रशस्त छ। एकैनासको हावापानी छ। यहाँ एक घर एक बगैँचा बनाउन सकिन्छ। स्याउ आलु,सिमी र ओखरलाई संरक्षण गरेर बजार सम्म पुर्याउन सकेको खण्डमा जुम्ला आत्मनिर्भर हुन सक्छ। ’
उनका अनुसार पातारासी गाउँपालिकाका हरेक वडामा कृषि पकेट क्षेत्र बनाइएको छ। किसानको बगैँचामा देखिएका समस्या र उपलब्धिका बारेमा स्थानीयतहमा छलफल गर्ने उनीहरुले बताएका छन् । यहाँका ओखर किसानलाई हेल्भेटासको आर्थिक सहयोग सुर्य सामाजिक सेवा संघ जुम्लाको सहजीकरणमा मिठो परियोजनाले प्राविधिक सहयोग गर्दै आइराखेको छ।
सुर्य सामाजिक सेवा संघ जुम्लाका अध्यक्ष घनश्याम नगरकोटीले जनप्रतिनिधि बगैँचामै पुगेकोले किसानका पिरमर्का, समस्या बुझ्न सहज भएको बताए। समग्रमा किसान र जनप्रतिनिधि बीचको सुमधुर सम्बन्ध स्थापित गर्न आवश्यक छ ।’
अहिले ओखरको तेलको माग बढ्दोछ । यहाँका किसान दैलोमै १ हजार ५ सय रुपैयाँ लिटरमा ओखरको तेल बेचिरहेका छन्। जुम्लाको तातोपानी र पातारासी गाउँपालिकामा ओखर प्रशोधन केन्द्र स्थापना गरिएको छ।