सिमकोट : पुरानो र जीर्ण भवनबाट जिल्ला प्रशासन कार्यालय आफ्नो नयाँ भवनमा सरेर सेवा सुरु गरेको छ । भवनको निर्माण कार्य एक वर्ष अगाडि नै पुरा भएको भएपनि अहिले आएर नयाँ भवनमा कार्यालय सरेर काम सुरु गरेको हो ।
स्थापनाको पचास वर्षपछि पुरानो जीर्ण भवनमा काम चलाउ रुपमा सेवा प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालयले नयाँ भवनबाट काम गर्न सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नयाँ भवनमा कार्यालय सारेर सेवा प्रवाह सुरु भएको जानकारी दिए । सिमकोटस्थित काली चोक क्षेत्रमा आठ कोठे दुई तले भवनको आवश्यक सबै संरचना निर्माण भएपछि कार्यालय सरेको उनले बताए ।
काम सम्पन्न भएको एक वर्ष अगाडी निर्माण कम्पनी पक्षबाट प्रशासन कार्यालयले बुझेको भएपनि कार्यालय सर्न सकेको थिएन । प्रमुख जिल्ला अधिकारी आचार्य सरुवा भएर जिल्लामा आए लगत्तै नयाँ भवनमा कार्यालय सार्ने योजनामा लागेका थिए ।
कार्यालयमा सरेपछि उनले सिमकोटस्थित तल्लो बजारको पुरानो र जीर्ण भवनमा काम चलाएर कार्य गरि रहेका बेला नयाँ भवनबाट काम गर्न पाउदा सहज भएको बताए ।
नयाँ निर्माण भएको एउटै भवनमा प्रशासन कार्यालयबाट प्रबाह हुने सेवाहरुका लागि छुट्टाछुट्टै फाँट स्थापना गरेर कार्य सुरु भएको छ ।
पहिलेको भवनमा सेवाग्राहीलाई एउटै कोठाबाट एक भन्दा बढी सेवा प्रवाह गर्ने गरिदै आएको बेला अहिले आएर प्रशासन कार्यालयले सेवा अनुसार फाँट खडा गरेर सेवा प्रदान गर्दै आएको छ ।
यसले गर्दा कर्मचारी र सेवाग्राहीलाई काम गर्न समेत सहज भएको छ । यसअघि प्रशान कार्यालय २०२८ सालमा निर्माण भएको पुरानो माटोको भवनबाट कार्यालय संचालन गर्दै आएको थियो ।
प्रजिअ आचार्यले कार्यालय क्वाटरको निर्माण कार्य अन्तिम चरण पुगेको, सुरक्षा चौकी र सेवाग्राहीको प्रतिक्षालय निर्माण गर्न बाँकी रहेको बताए ।
त्यसका लागि पनि तयारी प्रशासन कार्यालयले गरि रहेको छ । प्रशासन कार्यालय हुम्ला जिल्लामा २०२८ सालमा स्थापना भएको हो ।