काठमाडौँ : अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि अनेकन शंका उब्जिएका छन् । खासगरी डेढ महिनामै कसरी तालिवान फेरि शक्तिशाली भएर सत्ता कब्जा गर्न सफल रह्यो भन्ने खुला खुल्न बाँकी छ । तर अमेरिकी सेना फिर्ता भएपछि पहिल्येकै शक्तिशालीलाई एकत्रित गरेको तालिवानले सत्ता कब्जा गरेको आकलन छ ।
तर वास्तवमा यो एकैपटक भएको भने होइन । नेपाली र विश्वका सबैको ध्यान मात्रै अहिले गएको हो । विगतमा पनि तालिवानले सत्ता कब्जा गर्ने सबै मोडल प्रयोग गरेको थियो । तर अहिले अमेरिकी सेनाले अफगान छाडेपछि मात्रै उसले आफ्नो निर्णायक कारबाही सफल पारेको हो ।
त्यसमध्ये केही कारण, प्रक्रिया र तालिवानको कदम यस्तो देखिन्छ । जसलाई १३ वटा बुँदामा हेरौँः
१. कतारमा तालिबान, अमेरिका तथा अन्य राष्ट्रसंग वार्ता भइरहेको थियो । त्यसमा अमेरिकी रक्षामन्त्रीको पनि सहभागिता थियो ।
२. त्यसमा अमेरिकाले सेना फिर्ता गर्ने, तालिबानलाई आक्रमण नगर्ने, तालिबानले हत्याहिँसा बन्द गर्ने, बदला लिन नपाइने, मानव अधिकार र स्वतन्त्रता तथा प्रजातान्त्रिक विधिमा चल्नुपर्ने लगायतका सहमति भएको थियो ।
३. तालिबान नेताहरुले चीन, रुस तथा सिमा जोडिएका इरान, पाकिस्तान, ताजकिस्तान, उज्वेकिस्तान लगायतका देशसंग कुटनैतिक वार्ता गरेका थिए ।
४. तालिबान नेताहरुले अफगानिस्तान सरकारसंग वार्ता गरिरहेका थिए । तालिबानको शर्त थियो – राष्ट्रपति तथा उपराष्ट्रपतिले पदबाट राजिनामा दिनुपर्ने । तदनुसार उनीहरु काजकिस्तान लागे ।
५. अफगानिस्तानका राष्ट्रपति असरफ घानी अमेरिकामा पढेका, अन्तराष्ट्रिय निकायमा नेतृत्व गरेका तथा विद्वान मानिन्छन् । उनी काजकिस्तानबाट अमेरिका गएर बस्ने छन् । शान्तिपूर्ण सत्ता हस्तान्तरणमा उनको भूमिकाको केहि बर्षपछि गुनगान सुरु हुनेछ ।
६. अफगानिस्तानको सरकारले तालिबान समुहलाई आक्रमण नगर्ने, उनीहरुले पनि हत्याहिँसा नगर्ने सहमति अनुसार तालिबान शान्तिपूर्ण ढंगले काबुल पसेका थिए ।
७. अहिले अफगानिस्तान सरकार र तालिबानको संयुक्त सरकार बनाउने प्रयास हुँदैछ । उक्त अन्तरिम सरकारले तोकिएको मितिमा चुनाव गर्नेछ ।
८. अमेरिकाले अफगानिस्तान खरबौं डलर खर्च गरेर सेना राख्दा उसलाई कुनै फाइदा थिएन । बिन लादेन लगायत ट्विन टावरमा आक्रमण गर्ने तथा उग्रबादीलाई तह लगाउने उसको अभिष्ट थियो । त्यो पुरा भएपछि अमेरिका त्यहाँबाट फर्कियो । अफगानिस्तानसंग न अमेरिकाको सिमाना जोडिएको छ न त अफगानिस्तानमा कुनै आर्थिक वा सामरिक लाभ छ । यो दुई दशकमा करिब २४०० अमेरिकी सेनाको मृत्यु र खरबौं डलर खर्च भएकोमा अमेरिका त्यहाँ कहिलेसम्म बस्ने ? भन्ने प्रश्न उठिरहेको थियो ।
९. तालिबानहरु समुहमा बिभिन्न सहर कब्जा गर्दै काबुल आउँदा कुनै शक्ति राष्ट्रले चाहेको भए आकासबाट पनि आक्रमण गर्न सक्थ्यो । आफ्ना सामान तथा कर्मचारीको सुरक्षाको लागि एयरपोर्टमा ५ हजार सेना झारेको अमेरिकाले न उनीहरुलाई आक्रमण गर्यो । न तालिबानले अमेरिकी सेनालाई आक्रमण गरेको देखियो ।
१०. त्यहाँका राष्ट्रपति असरफ घानीले सत्ताको लागि संघर्ष गरेको भए ठूलो जनधनको क्षति हुन सक्थ्यो । करिब ३ लाख सुरक्षाकर्मी भएको अफगानिस्तानले कतै पनि उनीहरुको प्रतिकार गरेन । यो सबै कतारको मध्यस्ता अनुरुप भएको थियो ।
११. अफगानिस्तानका जनता पनि राजनैतिक अस्थिरताले थाकेका थिए । तसर्थ उनीहरु चुपचाप बसे । पक्ष र बिपक्षमा जुलुस समेत भएन ।
१२. बिगत दशक यता तालिबानीले हिंसात्मक गतिबिधि लगभग छोडेका थिए । उनीहरु शान्तिपूर्ण ढंगले राजनीति गर्ने, बिदेशीलाई आक्रमण नगर्ने र आफ्नो देश फर्किन चाहनेलाई सहजीकरण गर्ने, कोहीसंग पनि बदला नलिने, महिलालाई पढ्ने लगायतका स्वतन्त्रता दिने तथा मिलेर काम गर्ने शर्त पालना गर्दै आएका छन् ।
१३. यो घटनाले के देखाउंछ भने देश आफै बलियो हुनुपर्छ । बिदेशी शक्तिको आडमा गर्ने राजनीति दिगो हुँदैन, शान्तिपूर्ण रुपान्तरण आवश्यक छ । लडेर हैन आपसी संवाद र कुटनीतिबाट राजनीति गर्नुपर्दछ तथा जनता विभाजित हुनु हुँदैन । अर्काको देशमा लाद्ने राजनीतिले क्षतिबाहेक केहि हात लाग्दैन भन्ने अर्को संदेश पनि दिएको छ ।
अफगानिस्तानबाट घानी लखेटिएको र तालिवानले सत्ता कब्जा गरेपछि केहि समय शंका, उपशंका, किंवदन्ती, घटना र अनुमानको खेती चल्नेछ । आशा गरौँ, अफगानिस्तान शान्ति, स्थिरता तथा समुन्नतीको बाटोमा अघिं बढ्नेछ ।