सिमकोट : हुम्लाको नाम्खा गाउँपालिका – ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दाहरु एक घण्टा पैदल हिडेर नदीको धमिलो पानी खान बाध्य हुँदै आएका छन् । गत साउन २० गते आएको बाढीले खानेपानीको मुहान र पाईप लाईन बगाएपछि स्थानीयले पानीको व्यवस्था गर्न दुःख गर्दै आएका हुन् ।
तुम्कोटका स्थानीय बासिन्दा थुप्देन ग्याण्टो लामाले बाढीले खानेपानीको मुहान, इन्टेक र पाईप लाईन बगाएर लगेपछि गाउँबाट एक घण्टा तलको तुम्कोट नदीबाट पानी बोकेर ल्याउनु परेको बताए । घर आगनमै भएका धारामा पानी आउन छोडेपछि घरका एक जनाको काम दैनिक पानी ओसार्ने गरिएको हो ।
यसरी सिंगो खानेपानीको योजनालाई बाढीले क्षति पुर्याएपछि नदीको धमिलो पानी प्रयोग गर्न स्थानीय बासिन्दा बाध्य हुँदै आएका छन् । बिहान सबेरै उठेर तुम्कोटका स्थानीयको लाईन लागेर खानेपानी ओसार्ने कार्य दैनिकी जस्तै हुन थालेको छ । यसबाट तुम्कोटका २५ घरधुरीका स्थानीय प्रभावित भएका छन् ।
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक दन्त शाहीले तुम्कोट गाउँको भित्र मुहानबाट निर्माण भएको फुईसिङ खानेपानी तथा सरसफाई योजनालाई बाढी पहिरोले गर्दा बगाएर लगेपछि गाउँमा खानेपानीको समस्या भएको बताए ।
पुरै संरचनाको विजोग अवस्था बनाएको उनले बताए । तर गाउँमा निर्माण भएका छ वटा सार्वजनिक स्थानका धाराहरु भने जस्ताको तस्तै रहेको पनि उनले बताए । मुहान बाढीले बगाएर लगेपछि गाउँमा भएका धारामा पानी नआउदा एक घण्टा हिडेर नदीको पानी पिउन बाध्य भएका हुन ।
उनले यो अवस्थालाई मध्यनजर गर्दै परियोजनाले उक्त योजना मर्मत कार्य गर्ने र त्यसका लागि तत्काल फिल्डमा प्राबिधिक खटाएर लागत इस्टिमेट तयार गरि रहेको र अब चाँडै मर्मत कार्य सुरु हुने बताए । केही महिना अगाडी मात्रै उक्त योजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको थियो । यसका लागि परियोजना, नाम्खा गाउँपालिका र स्थानीय उपभोक्ताहरुबाट लागत साझेदारीमा काम भएको हो ।