जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पश्चिम नेपालकै चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउन थालेको छ । प्रतिष्ठानले पछिल्लो समय स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम निर्माणका लागि जुम्लाबाटै सुरु गरेको छ ।
स्नातकोत्तर तहको पाठ्यक्रम बनाउन जुम्लामा एक दर्जन बढी चिकित्सा क्षेत्रका प्राध्यापकहरु , सहप्राध्यापकहरु र कर्णाली प्रतिष्ठानका विभिन्न विभागका प्रमुख विज्ञहरु जुटेका छन् ।
प्रतिष्ठानले नर्सिङ तहको उच्च स्तरको कक्षा सञ्चालन तथा पश्चिम नेपालमै पाठ्यक्रम पुर्याउन जुम्लामा केन्द्रीत भएर पाठ्यक्रम बनाउन सुरु गरेको बताइएको छ ।
जुम्लामा एक औपचारिक कार्यक्रम गरेर प्रतिष्ठानले मास्टर्स अफ नर्सिङ तहको पाठ्क्रम तयारीको अन्तिम चरणमा रहेको बताएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले यस पटक स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन जुम्लामा सुरु गरिएको बताए । उनले कर्णालीको चिकित्सा क्षेत्रमा अर्को माइलस्टोन सुरु भएको बताए ।
उनका अनुसार प्रतिष्ठानले आफै एमबीबीएस, वि फार्मा, बीएनएस, बीएमएस, बीपीएच, एमडिएमस, एमएससि ईपिडिमियोलोजी, ब्याचलर न्यूट्रेसनसहितका पाठ्यक्रमहरु यस अघि बनाइ सकेको छ । ‘अव स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन थालिएको छ । जुम्लामा बनाएको पाठ्यक्रमले चिकित्सा क्षेत्रमा पश्चिम नेपालमै लागु हुने र स्तरीय हुने अपेक्षा गरिएको छ ’ उनले थपे ।
जुम्लामा बनेको पाठ्यक्रम भने केही भूगोल केन्द्रीत समेटन सकिनेमा प्रतिष्ठानका पदाधिकारीको दाबी छ । प्रतिष्ठानले जुम्लामा गत बर्ष बीएनएस तहको पाठ्यक्रम समेत बनाएको थियो ।
प्रतिष्ठानका नर्सिङ डीन सहायक प्राध्यापक डाक्टर सरस्वति गौतमले नर्सिङ पेशा जतिमाथि गएपनि स्यार सुसार र विरामीको सुरक्षामा केन्द्रित हुने बताइन् ।
उनले जुम्लामा आफ्नै हातबाट पाठ्यक्रम बनाउन पाउदा खुसी व्यक्त गरिन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो व्याज प्रविणता प्रमाणपत्रबाटै शिक्षा सुरु गरिएको थियो । जुम्लाको होटल कान्जिरोवामा सुरु भएको दुईदिने पाठ्यक्रम विकास कार्यशालामा नर्सिङ डीन गौतमले नर्सिङ उच्च तहको पाठ्यक्रमको अन्तिम रुप दिने बताइन ।
उनले भनिन, ‘यो पनि प्रतिष्ठानको कोसेढुंगाको पानामा दस्तावेजीकरण हुने छ । ’ प्राध्यापक डाक्टर सर्मिला जोशीले प्रतिष्ठान र विज्ञहरुले तयार पारेको मस्यौदा प्रस्तुत गरेकी थिइन । उनले दुई बर्षको उक्त पाठ्यक्रम भन्दा बढी व्यवहारिक नैतिक शिक्षामा केन्द्रीत हुने बताइन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले प्रतिष्ठानले जुम्लाको सौभाग्य कोरेको बताए । उनले कुनै वेला डाक्टर नपाएर जुम्लीको शब एक हप्ता कुहिने गरेको स्मरण गर्दै भने जुम्ला अहिले डाक्टर उत्पादन गरेर अरु ठाउँमा पठाउने भयो । उनले ,पाठयक्रमको मस्यौदामा सूझाव दिदै भने जुम्लामै पाठ्यक्रम तयार हुनु कर्णालीका लागि खुसी हो ।
कर्णाली प्रतिष्ठानको काममा केही पारदर्शीतामा अझै पनि जोड दिनुपर्ने सुझाव दिए । पाठ्यक्रमको मस्यौदामाथि विभिन्न विज्ञहरुले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या वरिष्ठ अस्पताल नर्सिड प्रशासक सकुन्तला गौतम, कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य क्षेत्रका डीन मुनीराज क्षेत्री लगायतका विज्ञहरुले मस्यौदामा सूझाव दिएका छन ।