काठमाडौँ : तत्कालिन ऊर्जामन्त्री भएका बेला जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याएका थिए । जनार्दनको त्यो निर्णय ऐतिहासिक साबित भयो । त्यतिबेला खासै चर्चामा नआएका, नसोचिएका र यो क्षमता छ भनेर पनि नबुझिएका कुलमानले चमत्कार गरे ।
१८ घण्टा लामो लोडसेडिङ अन्त्य गरेर कुलमानले अध्यारो देशलाई उज्यालो बनाएका थिए । नेपालमा लोडसेडिङ हटाएको चार वर्षपछि फेरि कुलमान त्यही सिटमा छन् । जनार्दन शर्मा ऊर्जामन्त्री भएको बेलामा नेपाल लोडसेडिङमुक्त भएको थियो ।
त्यसैकारण जनार्दनलाई उज्यालो नेपालका नायक पनि भनिन्छ । त्यसपछि अर्को सरकार आउँदा माओवादीबाटै महेन्द्र शाही ऊर्जामन्त्री बने । शाही अहिले कर्णाली प्रदेशका मुख्यमन्त्री छन् । जनार्दनको उज्यालो नेपालको नायकत्व शाहीले समेत अधिग्रहण गर्ने मौका पाए ।
दुवै नेताहरु कर्णालीबाट थिए । जसले विद्युत प्राधिकरणलाई फाइदामा पुर्याएर उज्यालो नेपाल बनाउने योगदान साबित गरे । तर अपसोच उज्यालो नेपालका नायकहरुको कर्णाली प्रदेश भने अध्यारो छ ।
सुर्खेतको राजधानी सुखेृतमा दैनिक घण्टौ बत्ती जाने समस्या छ । दैनिक बत्ती जाँदा मानिसहरु हैरान हुन थालेका छन् । उनीहरु विचलित भइसकेका छन् । कतिपय व्यापार व्यवसाय चौपट भएको छ । ब्याकअप राखेकाहरुले व्यापार व्यवसाय चलाएपनि बत्तीको भरमा भएकाहरुको हालत खराब छ ।
सम्भवतः कर्णाली प्रदेश सरकारले पनि आफ्ना सबै मन्त्रालय, निकाय र सरकारी कार्यालयमा ब्याकअप राखेको हुनुपर्छ । जसकारण उसले बत्ती जाने समस्याको दिगो समाधान गर्न सकेको छैन । राष्ट्रिय प्रसारण लाइन रहेको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, रुकुम र कालिकोटमा दैनिक बत्ती हुँदैन । एक दुई घण्टा होइन, कहिलेकाँही दिनभर र रातभर बत्ती जाने समस्या छ ।
सोही कारण जनता आजित भइसकेका छन् । तर यसैबेला कर्णाली प्रदेश सरकार भने जनताको यो पीडामा रमिते बनेको छ । अनि संघीय अर्थमन्त्री रहेका जनार्दन शर्माले पनि कुनै ठोस पहल थाल्न सकेका छैनन् ।
मंगलबार नेपाल विद्यूत प्राधिकरणले आफ्नो ६७ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ । उसले यसका लागि मिडियामा नै विज्ञापन दिनेदेखि सबै तामझाम गरिरहेको छ । देशभरका विद्युत प्राधिकरणका कार्यालयमा बिदा दिइएको छ ।
प्राधिकरणका कर्मचारी आज खुशियाली मनाइरहेका छन् । त्यसमाथि कुलमान फर्किएका बेला कर्मचारी निकै उत्साहित छन् । तर कर्णाली प्रदेश भने अध्यारोमा छ । हुम्ला, मुगु, डोल्पा र जुम्ला तथा कालिकोटका धेरै ठाउँमा अहिले पनि बिजुली पुगेको छैन ।
त्यहाँ मात्रै होइन, कर्णालीको राजधानी सुर्खेतका धेरै ठाउँमा पनि बिजुली पुगेको छैन । जसकारण अहिले पनि उनीहरु सोलार बत्तीको भरमा छन् । यस्तो बेला विद्युत प्राधिकरणले आयोजना गरेको भव्य वार्षिक उत्सव सुर्खेत लगायत कर्णाली प्रदेशका जिल्लामा खल्लो जस्तै छ ।
सुर्खेती जनता बिजुली नपाएका बेला कसरी उत्सव मनाउन सक्छन् ? उज्यालो नेपाल बनाउने नायकको प्रदेश अध्यारोमा सीमित हुनु कर्णालीका केन्द्रीय र प्रादेशिक नेताहरुका लागि लाजमर्दो विषय हो । यसतर्फ नेताहरुको ध्यान जान आवश्यक छ ।
जसले कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनको दिगो समाधान र नयाँ आयामका विषयमा पर्याप्त छलफल, बहस र नयाँ कदम ल्याउन निर्णायक सहयोग गरोस ।