दैलेख : दैलेखको नारायण नगरपालिकाका विद्यालय एक हप्तामै बन्द भएका छन् । नारायण नगरपालिकाले विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरेको एक हप्तामै यहाँका विद्यालयहरु बन्द भएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु साउन २२ गतेबाट संचालनमा आएका थिए । २२ गतेबाट नगरपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो ।
सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराइ पठनपाठन गर्दा जोखिम बढ्ने भएकाले सुचना जारी गरी विद्यालय बन्द गरिएको हो ।
पाठ्यक्रम अनुसार पठनपाठनका लागि ढिलो हुने भन्दै विद्यार्थीहरुलाई विद्यालयमा नै बोलाएर पठनपाठनलाई नियमित गरिने बताइएको थियो ।
‘पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याएको नगर शिक्षा शाखाले बताएपनि विद्यालयमा यसको पालना हुन नसकेका कारण अहिले विद्यालय बन्द गर्नुपरेको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले हस्ताक्षर गरिएको सूचना प्रकाशित भएको छ ।
सुचनामा भनिएको छ ‘ २२ गते देखि नगरका सरोकारवाला सबैको सहकार्यमा विद्यालय संचालन गरे पनि कोरोना महामारीको संक्रमण दिन प्रतिदिन बढदै गएको र यसको प्रभाव यस नगरपालिकामा पनि परेको हुँदा सिकाई सहजीकरणको बैकल्पिक माध्यम अपनाउँदै अर्को सुचना नभएसम्मका लागि भदौँ १ गतेदेखि सम्पुर्ण विद्यालयहरु बन्द गरिएका छ ’ ।
पहिला पनि सुचना नै जारी गरि पठनपाठन सुचारु गर्न विद्यालयहरुलाई नगरले आग्रह गरेको थियो । विद्यालय सुचारु भएको एक हप्तामा नै हालको अवस्थालाई मध्यनजर गर्दैैै विद्यालयको पठनपाठन केही समयका लागि बन्द गर्नु परेको विद्यालयहरुले जनाएका छन् ।
विद्यालय बन्द भएको अवस्थामा जिल्लाको दुई वटा सामुदायिक रेडियोहरु रेडियो ध्रुवतारा र रेडियो ज्वालाबाट नगरपालिकाले कक्षा सञ्चालन गरेको थियो ।
यस्तै दुल्लु नगरपालिकाका कतिपय विद्यालयले वैकल्पिक विधिको समेत अभ्यास गरेका छन् । दुल्लु नगरपालिका १० मा रहेको पञ्चकोशी माविले इसीसी नेपालको सहकार्यमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई सिर्जनात्मक पुस्तक उपलब्ध गराएको छ । जोर विजोडको माध्यमबाट सामाजिक दुरी कायम गरी विधार्थीहरु विद्यालयमा उपस्थिती हुने गरेका छन् । विद्यार्थीलाई आवश्यक गृहकार्य दिएर रचनात्मक तरीकाले प्रश्न उत्तर सोध्ने गरिन्छ । यो अभ्यासलाई माथिल्लो कक्षामा पनि निरन्तरता दिन सके प्रभाकारी हुने शिक्षक महेश खड्काको बुझाई छ ।