जुम्ला : सानो उमेरमै विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा जुम्लामा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको गत वर्षको तथ्यांक अनुसार जुम्लामा बालविवाहको अवस्था डर लाग्दो नै देखिन्छ ।
स्थानीय तहमा बालविवाहको कुनै तथ्यांक नभएपनि स्वास्थ्य संस्थामा गर्भजाँच गराउँन आउने २० बर्ष मुनिका किशोेरीको अवस्था हेर्ने हो भने भयावह नै रहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले आर्थिक वर्ष ०७७ र ०७८ को रिपोर्टका आधारमा एक वर्षमा २० बर्ष भन्दा मुनि उमेरका गर्भ जाँच गराउनेको किशोरीको संख्या ८ सय ६० जना रहेको छ ।
यो तथ्यांकले जुम्लामा बालबिवाहको अवस्था भयावह रहेको पुष्टि गरेको छ । जुम्लाको सबैभन्दा बढि चन्दननाथ नगरपालिकामा रहेको देखिन्छ् । नगरपालिकामा २० वर्ष मुनिका १ सय ९० जना किशोरीले गर्भ जाँच गराएका छन् । भने, कम तातोपानी गाउँपालिकामा ६६ जना बालिकाले गर्भ जाँच गराएको देखिन्छ ।
त्यस्तै पातारासी गाउँपालिकामा १३४ जना, कनकासुन्दरीमा ९० जना,सिँजा गाउँपालिकामा ६८ जना,चन्दननाथ नगरपालिकामा १९०जना,गुठिचौर गाउँपालिकामा ९५ जना,तातोपानीमा ६६ जना, तिलामा १४० जना र हिमामा ७७ जना बालिकाले गर्भ जाँच गराएका छन ।
बालविवाहको सहयोगी मोबाइल र फेसबुक
पछिल्लो समयमा बालविवाहको प्रशंग भने फेरीएको छ । यसअघि हुने बालविवाह परम्परागत संस्कारबाटै अभिभावकको मिलेमतोमा हुने गरेको थियो । अहिलेकाृ समयमा मोबाइल र सामाजिक सञ्जाल फेसबुक पनि सहयोगी भएको पाइएको छ ।
बालबालिकाले पनि को मोबाइल र फेसबुकको प्रयोग गर्न थालेकाले यस्ता गतिविधि रोक्न समस्या बढेको देखिन्छ । जुम्लामा सामाजिक सञ्जालको माध्यमबाट मायाप्रेमको जालमा परी बालविवाह गर्ने गरेका उदाहरण छन् ।
जुम्लामा गत बर्षमा १ सय ८० जनाले निकै कम तौल भएको बच्चा जन्माएकी छन् । यो पनि बालविवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउँछन् ।
सापकोटा भने, ‘बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको देखिन्छ । सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमा गरिने विवाह हो ।’ उनका अनुसार ५५ जना बच्चा मृतक जन्मिएका छन ।
२० मुनिका ४३ जना किशोरीले गरे गर्भपतन
एक वर्षको अन्तरालमा २० बर्ष मुनिका ४३ जनाले गर्भपतन गराएका छन । ३० जनाले औषधि सेवन गरेर १३ जनाले सुरक्षित गर्भपतन गरेको तथ्यांक छ । यो तथ्यांक हरेक स्थानीयतहमा रहेका स्वास्थ्य संस्थाले दिएको प्रतिवेदनका आधारमा तयार पारिएको स्वास्थ्य सेवा कार्यालय जुम्लाको दाबी छ।
बालविवाह न्यूनीकरणको जिम्मेवारी सरकारी र सामाजिक सङ्घसंस्थाको मात्र हो कि भन्ने सोचाइमा समेत परिवर्तन आउन आवश्यक छ । सम्बन्धित निकायसँगै अभिभावक, राजनीतिक दलका नेता सबैको सहयोगविना यस्ता सङ्घसंस्थाले मात्रै बालविवाह वर्षौदेखि चलिरहेको बालविवाह न्यूनीकरण सक्ने अवस्था छैन ।