सुर्खेतः पूर्नगठित नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा कर्णाली प्रदेश कमिटी संयोजक प्रकाश ज्वालाले भूमिहिन, सुकुम्बासी किसानलाई जग्गाको मालिक बनाउने गरी तत्काल शक्तिशाली सुकुम्बासी समस्या समाधान आयोग गठन गर्न सरकारलाई आग्रह गरेका छन् ।
पूर्नगठित नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको मंगलबार वीरेन्द्रनगरमा सम्पन्न पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।
जनतालाई भूमिको मालिक बनाउने गरी आयोग गठन गर्न गठबन्धन सरकार तयार हुनुपर्ने बताए ।
उनले भने, ‘केपि ओलीबाट पटक–पटक संविधानमाथी र पार्टीभित्र कु गरि पार्टीको विधान विपरितका गतिविधि र संविधान विरोधी प्रतिगमनकारी कदम चालेका कारण यो अवस्था आएको हो । ज्वालाले राजनीतिक, सांगठनिक, वैचारिक कुराहरुको वस्तुनिष्ठ समिक्षा गरेर अहिले पनि हामीहरु एकीकरणकै पक्षमा छौं’ ।
पार्टी अध्यक्ष ओली आफैँले गरेका प्रस्तावबाट पछि हट्ने पटक–पटक जालझेल गर्दै पार्टीभित्र लामो समय योगदान गरेका नेता तथा कार्यकर्ताहरुलाई अपमान गर्ने, पार्टीभित्र निरन्तर एकलौटी गर्दाको यो अवस्था आएको उनले बताए ।
त्यस्तै पूर्नगठित नेकपा एमालेको बैठकले गाउँपालिकारनगरपालिका र वडा कमिटीहरुको गठन, पुर्नगठन र बैठक, प्रशिक्षण, भेला, अन्तरक्रिया तत्काल सम्पन्न गर्ने, जनसंगठनका कमिटी गठन, पुर्नगठन र बैठक तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय पारित गरेको छ ।
बैठकले जिल्ला कमिटीको सचिवालय, विभिन्न विभागहरुको जिम्मेवारी दिएर व्यवस्थित रुपमा अगाडी बढाउने, पार्टी कामलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न सबै कमिटीका सम्पर्क कार्यालयहरु स्थापना गर्ने निर्णय भएको कमिटीका सचिव शिवप्रसाद उपाध्यायले जानकारी दिए ।
पार्टी सदस्यहरुको अभिलेखलाई व्यवस्थित गर्ने, नयाँ पार्टी सदस्यहरुको नामावली तथा सदस्यता संकलन र अध्यावधी गर्ने निर्णय भएको छ । तत्काल सुकुमबासी आयोग गठन गरेर भूमिहिन किसानहरुलाई जग्गाको मालिक बनाउने प्रक्रिया सुरु गर्न सरकारसंग माग गर्ने निर्णय भएको सचिव उपाध्यायले बताए ।
पुर्नगठित एमालेका नेता तथा कार्यकर्ताहरु माथी भइरहेको अवरोध, दबाब, अनर्गल गलत प्रचारकाविरुद्धमा कडा रुपमा आपत्ति प्रकट गर्दै लोकतन्त्रमा विचार स्वतन्त्रताको अधिकारलाई कुठित हुने गरी गरिएका यस्ता हर्कत तत्काल रोेक्न चेतावनी दिएको छ ।