सिमकोट : इलाका प्रशासन कार्यालयमा नागरिकता लिने सेवाग्राहीको संख्या बढेको छ । पहिलो पटक सर्केगार्ड गाउँपालिकामा स्थापना भएको कार्यालयबाटै नागरिकता लगाएतका सेवाहरु प्राप्त हुन थालेपछि गाउँ गाउँबाट सेवाग्राहीहरु नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो ।
जिल्लाका दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रवाह गर्नका लागि स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगार्डले स्थापनाको पाँच वर्षपछि कार्यालयबाटै नागरिकता प्रदान गर्न सुरु गर्दा पहिलो तीन दिनमै ४५ वटा नागरिकता र दुई वटा नाबालक परिचपत्र प्रदान गरिएको कार्यालय प्मुख भिमबहादुर रोकायाले बताए ।
यसअघि कार्यालयमा नागरिकता दिने अधिकृत स्तरको कर्मचारीको व्यवस्था नहुँदा रोकिएको काम अहिले गृह मन्त्रालयले कामु जिम्मेवारी दिएपछि नागरिकता दिन सुरु गरिएको थियो ।
कार्यालय मात्र स्थापना भएर सेवा प्रदान नगरिदा महिनामा २५ देखि पचास जनाका नागरिक प्राप्तिका लागि अनुसुची भरेर जिल्लामा पठाउने गरिएकोमा अहिले कार्यालयबाटै सेवा छोटो समयमा उपलब्ध हुने भएपछि सेवाग्राही बढ्नु स्वभाविक भएको उनले बताए ।
सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा स्थापना भएको इलाका प्रशासन कार्यालयबाटै पहिलो पटक नागरिकता पाँच मिनेटमा प्रदान गर्न थालिएको छ । सेवाग्राहीको यो समस्यालाई बल्ल प्रशासन कार्यालयकै नायब सुब्बा रोकायालाई कामयमुकरर ९ अधिकृत स्तरको जिम्मेवारी दिएपछि स्थलगत रुपमा स्थापना भएको कार्यालयबाट नागरिकता दिन सम्भव भएको हो ।
यसअघि प्रत्येक महिनामा २५ देखि पचास वटा नागरिकताहरु फर्महरु सबै तयारी गरेर जिल्लामा पठाउने र कार्यालयबाट स्वीकृत भएर आएपछि मात्र सेवाग्राहीलाई प्रदान गर्ने गरिएको थियो । अहिले पनि विद्युतको व्यवस्था सहज नहुँदा हातैले खेलेर प्रदान गर्ने गरिएको छ ।
कम्प्यूटरबाट प्रिन्ट गर्नका लागि कार्यालयले सोलारको व्यवस्थाका लागि लागेको जनाइएको छ । यसबाट खटिएका कर्मचारीलाई पनि सहज र सेवाग्राहीलाई आर्थिक र भौतिक रुपमा पनि सहज भएको छ ।
यसबाट सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका सेवाग्राहीले पन्द्र मिनेटदेखि दुई दिनसम्म पैदल हिडेर नागरिकता बनाउन आउने गरेका छन् । यी गाउँपालिका बढी जनसंख्या भएका क्षेत्रमा पर्छन । २०७३ साल असार ३० गते तत्कालीन पर्यटन मन्त्री जीवन बहादुर शाहीले उक्त कार्यालयको उद्घाटन गरेका थिए ।