जुम्ला : जुम्लामा जातीय विभेद गर्ने वडाअध्यक्षका बाबु– छोरा धरौटीमा रिहा भएका छन् । सिंजा गाउँपालिका– ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढालाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो ।
जिल्ला अदालत जुम्लाका न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छोरालाई धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाले जनाएको छ ।
वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई १ लाख धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाका निमित्त श्रेस्तादार तथा सुचना अधिकारी चेतराज पन्तले बताए ।
‘अभियोग पत्रको माग दाबी सजायको हकमा दुई महिनादेखि दुई वर्षसम्म कैद र बीस हजार देखि दुई लाख रुपैयाँ सम्म जरिवाना हुन सक्ने गरी भएको छ,’ उनले भने, ’तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा न्यायालयले धरौटी लिने गरेको हुन्छ । ’
अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नविन बुढाले सिंजा गाउँपालिका –६ काँडागाउँका विवेन्द्र नेपालीलाई जातीय विभेद गरेका थिए ।
गएको असार २५ गते पीडित नेपालीले जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढा र उनका छोरा नविनलाई प्रतिवादी बनाइ जोहेरी दिएका थिए।
जातीय भेदभाव तथा छुवाछूत सजाय कसूर मुद्दाका प्रतिवादी वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई १ लाख धरौटी माग गरि पुर्पक्षको लागि न्यायिक प्रक्रियामा राखिएको पन्तले बताए ।
पीडित नेपालीले जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको जाहेरी दर्ता गरेका भएपनि प्रहरीले वडाध्यक्ष बुढालाई अनुसन्धानको प्रक्रियामा सहभागी नगराई सिधैं अदालतमा उपस्थित गराएको हो ।
जाहेरी दर्ता भएबाट वडाध्यक्ष बुढा फरार थिए । वडाध्यक्षका छोरा नविन बुढालाई प्रहरीले १० दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेपछि वडाध्यक्ष र उनका छोरालाई अदालमा पेश गरेको थियो ।