सिमकोट : गरिबीको कारण छाप्रोमा बस्ने दम्पतिको पीडा कम्ता छैन । गरिबीको पीडा पनि झन गजबकै छ । एक वृद्ध दम्पति विगत डेढ वर्षदेखि जंगलमा घाँसको छाप्रो बनाएर बस्दै आएका छन् ।
गाउँमा भएको घर भत्किदा त्यसलाई मर्मत गर्न नसक्दा उक्त जोडी जंगलमा गएर बस्न थालेको हो । गरिबी कै कारण गाउँमा भत्केको घर निर्माण गर्न नसकेर जंगल छेउको छाप्रोमा बस्न बाध्य हुँदै आएको साठी वर्षीय शिवकला फडेराले बताइन् ।
हुम्लाको मध्य क्षेत्र सर्केगार्ड गाउँपालिका– २ को रिप गाउँका कुइया फडेराको वृद्ध जोडी भत्केको घरलाई निर्माण गर्न नसक्ने भएपछि गाउँबाट दुई किलो मिटर टाढाको जंगल छेउ गएर घाँसको छाप्रो बनाएर बस्दै आएको हो ।
उनले काम गर्न नसकिने भयो र अन्य सहयोग गर्ने सन्तान समेत नभएपछि वृद्ध उमेरमा यसरी दिन काट्नु परेको बताइन् । उनका श्रीमान उमेरले ६५ वर्ष कटेका कुइयाले वृद्ध भएको कारण घर बनाउन नसक्ने भएकोले अन्य विकल्प नदेखिएपछि यसरी जंगलमा बस्दै आएको बताए ।
१३ वर्ष अगाडी एक सन्तानका रुपमा रहेको छोरा गाउँबाट निक्लिएर फेरि फिर्ता नआएपछि योे जोडी एकलै बस्दै आएको थियो । उनले गरिबीकै कारण आफ्नो बास यस्तो झुप्रोमा भएको बताउँदै यस्तो बिजोक अरु कसैले भोग्न नपरोस समेत भनिन् ।
साविकको गाविस सकिर्देउको उनापानी गाउँमा भएपनि अहिले संघियता कार्यान्वयनसँगै बनेका गाउँपालिकाको – २ को रिप गाउँमा वडा कायम भएको थियो । कुनै काम गर्न नसक्ने अवस्थामा पुगेपछि दिसा, पिसाब गर्न, पानी भर्न र दाउरा टिप्नकै लागि उक्त वृद्ध दम्पतिको जोडी गाउँबाट सरेर जंगलमा गएर बस्न थालेका हुन् ।
गाउँमा खेतबारी र जग्गा पनि भएका उनीहरुलाई गाउँलेले खेती गरेको जग्गाबाट केही उत्पादन भएको अन्नपात पनि दिने गर्छन् । त्योसँगै उनीहरुको बाच्ने आधार भने सामाजिक सुरक्षा भत्ता भएको छ ।
वडाध्यक्ष जगबहादुर रावतले गाउँमा भएको घर डेढ वर्ष अगाडि पानी चुहिएर भत्किएपछि जंगल पुगेको जोडी पुनः गाउँमा कहिल्यै नफर्केको बताए । जंगल जानबाट रोक्ने प्रयास वडाध्यक्ष रावतले गरे पनि त्यो सम्भव भएन ।
गाउँमा छिमेकीको घरमा बस्न आग्रह गर्दा नमानेको बताउँदै फडेरा दम्पतीले जंगलको बास संघर्षपुर्ण विदाइरहेको बताए । दैनिक गुजारा चलाउन एकसरो भाडा र कपडाका भरमा सधैं उनीहरु बस्ने गर्दै आए । वडाध्यक्षले वृद्ध दम्पतीको सहज जीवन बिताउनका लागि सहयोगको याचना गरे । यसलाई पहल गर्ने उनले बताए ।
a