जुम्ला : साँझ–बिहान घरबाट छोरो घुम्न हिँड्दा हामी कोही पनि “छोरी मान्छेलाई नजिस्काउनुू, दुर्व्यवहार नगर्नू” भन्दैनौं । तर, त्यही घरकी छोरी साँझ–बिहान केही कामले घर बाहिर हिँड्दा भने, ‘बाटोमा के कस्ता मान्छे भेटिन्छन्, ख्याल गरेर जानू, अनि छिट्टै घर आउनु” भन्ने गरेका छौं ।
त्यही छोरी घरबाट निस्कँदा भन्ने विषय र छोरा घरबाट निस्कँदा भन्ने विषयमा किन अन्तर छ।।।। यी कुरा हरेक घरमा भनिने विषय भएकाले सामान्य लागे पनि छोरालाई भनिने र छोरीलाई भनिने यी दुई वाक्यले समाजको दृष्टिकोण र सामाजिक मनोविज्ञानलाई बोकेको छ ।
यहीँ मनोविज्ञानको आधारमा समाजको धारणा बनेको छ । छोरा र छोरीलाई हेर्ने दृष्टिकोण स्थापित भएको छ । घरभित्र होस् या घर बाहिर । लामो दूरीको यात्रामा होस् या छोटो दूरीको यात्रामा । छोरा मान्छेलाई सुरक्षित ठानिन्छ् । यस्ता विभेदपुर्ण व्यवहारबाट जुम्ला पनि अछुतो छैन ।
पछिल्लो समयमा सामाजिक न्यायमा आधारित दिगो र सन्तुलित विकासको लागि “दिगो तथा न्यायोचित विकास प्रतिष्ठान” सेडा नेपाल नामक संस्थाले गर्भावस्थादेखि नै छोरा र छोरीबीच सम्मान व्यवहारको लागि जुम्लाका ग्रामीण बस्तीमा गएर चेतनाका संवाद संञ्चालन गर्दै आएको छ ।
२०६० सालमा स्थापित गैंरसरकारी तथा सामाजिक संस्था सेडा नेपालले बालविवाह, गर्भावस्था र बच्चाको हेरचाहसँग जोडिएका गलत धारणा, हानिकारक परम्परागत अभ्यासको बारेमा समुदायहरूमा सामूहिक संवाद गर्दै आएको छ ।
यस्ता संवाद समाजमा पुरुष र महिलाहरूबीच घर भित्र र बाहिरका समान कार्य विभाजनको सहयोग पुगेको छ । सेडा नेपालले परियोजनालाई दिगो बनाउन अभिभावक शिक्षा लगायतका बिषयमा कनकासुन्दरी गाउँपालिकाको चार वटा वडाहरुमा रहेका आमा समूहको बैठकहरु मार्फत कार्यक्रम संञ्चालन गरिएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ ।
सेडामार्फत संञ्चालित प्रारम्भिक बालविकास कार्यक्रम ९बालबालिकाको सपना परियोजना० लगाएतको कार्यक्रमले बालबालिकाको क्षेत्रमा सुधार आएको छ । यस कार्यक्रमले भेदभाव, डर र सबै प्रकारका हिंसारहित समाज बन्ने छ ।
यसको लक्ष्य पनि सबै बालबालिकाले उचित र उत्तरदायी स्याहार पाउने छन भन्ने नै हो । यसले विकासात्मक लक्ष्यहरु हाँसिल गर्न बलियो आधार प्रदान गर्ने “दिगो तथा न्यायोचित विकास प्रतिष्ठानको” सेडा नेपाल जुम्लाका प्रमुख निर्मला थापाले बताइन् ।
उनले भनिन, ‘बालबालिकाको पालनपोषण र हेरचाहमा महिला जस्तै पुरुषहरू संलग्न गराउने हो । यसकारण महिला पुरुष लक्षित अभिभावक शिक्षा समुदायमा सञ्चालन गरिएको हो । यसले बालबालिकालाई पालनपोषण र हेरचाह प्रदान गर्न पुरुषको भूमिका र उनीहरूको संलग्नताले बच्चाको जीवनमा सकारात्मक नतीजाहरू हाँसिल गर्न मद्दत गर्छ । ’
पछिल्लो समयममा सेडाले सञ्चालन गरेको यो कार्यक्रमले पुरुषहरूको सोचाई र व्यवहारमा सुधार ल्याउन मद्दत पुर्याएको छ । २०२०–२०२१ को अवधिमा कम्तिमा ३३९२ गतिविधिहरू समुदाय स्तरमा सञ्चालन भएको “दिगो तथा न्यायोचित विकास प्रतिष्ठानको”सेडा नेपाल जुम्लाका लेखा अधिकृत दिपेन्द्र बढुवालले बताए ।
उनले भने, ‘ गरिएका ती गतिविधिहरूबाट १४,००० सहभागीहरू लाभाम्वित भएका छन् । “प्रारम्भिक बाल विकास तथा सिकाईका लागि घरमा आधारित खेल सँगालो” पुस्तक, बन्दाबन्दीको समयमा विकास गरिएको थियो ।
यसले गर्दा आगामी दिनमा बच्चाहरूलाई प्रारम्भिक उत्प्रेरणा र हेरचाह प्रदान गर्न स्याहारकर्ता हरूलाई ठूलो सहयोगी पुग्ने छ । यस संस्थाले आफ्नो स्थापना कालदेखि कर्णाली (साविक) क्षेत्रमा स्थानीय श्रोतको समुचित उपयोग गरि यस क्षेत्रका वर्ग तथा समुदायलाई आर्थिक समृद्धि र राष्ट्रिय विकासको मुल प्रवाहमा ल्याउनको लागि कार्य गरी रहेको छ ।’