काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यका वा बाहिरबाट घर जान चाहनेले आफ्नो प्रदेश र पालिका सरकारसँग समन्वय गर्न आग्रह गरेका छन । लकडाउनलाई थप कडाई गर्न सरकार दृढ भएको भन्दै समस्या परेर घर जान चाहनेले आफ्नो पालिका र प्रदेशसँग समन्वय गर्न उनले आग्रह गरेका हुन ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन थप कडाई गर्न भन्दै पैदलै हिडेर जानेलाई गाउँ जान नदिन बरु जहाँ भोकै छन त्यहाँ पुगेर खाद्यान्न वितरण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सोही कुरा सञ्चारमाध्यममा आएपछि सरकार र प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने प्रधानमन्त्रीको निर्देशनको बचाउ गर्दै लकडाउनमा थप कडाई गर्ने कुरा सत्य रहेको तर घर जानेलाई पालिका र प्रदेशसँग समन्वय गरेर पठाउन प्रधानमन्त्रीे ओलीले भनेको दाबी गरेका छन । विभिन्न प्रदेश र पालिका सरकारलाई आफ्नो क्षेत्रका नागरिकलाई उद्धार गर्न भने बन्देज छैन । तर शुक्रबार प्रधानमन्त्रीको निर्देशनपछि हिडेरै गाउँ जान लागेका नागरिकलाई अब प्रहरीले हिड्न नदिने हो की भन्ने त्रास थपिएको छ ।
“अत्यावश्यक बाहेकका आवतजावत थप कडाइ गर्न र सीमानाकामा अझ कडाइका साथ बन्द गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ”, राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा मन्त्री ज्ञवालीले भने, “घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।”
प्रधानमन्त्री ओलीले छिमेकी देश भारतमा कोरोना तिब्र गतिमा फैलिएकाले नेपालमा पनि जोखिम बढेको र यसका लागि लकडाउनलाई थप कडाई गर्नै पर्नेमा जोड दिएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ । तर यसका लागि केन्द्रदेखि प्रदेश र पालिकासम्म सचेत नभई नहुनेमा प्रधानमन्त्री स्पष्ट भएको पनि उनले बताए ।
तर घर जानै चाहने, प्रदेश र पालिकाले सुरक्षित, व्यवस्थित गरेर लैजान केन्द्र सरकारले नरोकेको मन्त्री ज्ञवालीले दाबी गरे ।