दैलेख : नारायण नगरपालिका ८ तर्ताङ्गमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई ल्यापटप दिइएको छ । कोरोना महामारीमा अनलाइन कक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ल्यापटप दिइएको विद्यालयले जनाएको छ ।
प्रधानाध्यापक जीवराज तिमिल्सेनाले कोरोना महामारीले विद्यार्थीको पठनपाठन अस्तव्यस्त भएकाले अनलाइन कक्षामार्फत निरन्तरता दिन ल्यापटप दिइएको बताए ।
१५ जना शिक्षकहरुलाई ल्यापटप वितरण गर्ने योजना अनुसार ल्यापटप हस्तान्तरण गरिएको उनले भने, ‘विद्यालयले १५ थान ल्यापटप सात लाख ८० हजारमा खरिद गरिएको र इमेल इन्टरनेटको पहुँचमा भएका बालबालिकाका लागि वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्ने, अन्य बालबालिकालाई कसरी शिक्षण सिकाई गर्ने विषयमा पुनः छलफल गरेर अगाडी बढ्ने छौं ’ ।
‘‘कोरोनाको कारण हामीले अनलाइनबाट वैकल्पिक शिक्षाको अभ्यास त गर्यौं तर शिक्षकसँग साधन नहुँदा समस्या भइरहेको थियो,’ उनले भने, ‘अब सबै शिक्षकलाई ल्यापटप दिएपछि पठनपाठन प्रभावकारी हुने विश्वास लिएका छौं ।’ कम्प्युटर शिक्षाको विकासका लागि पनि ल्यापटप दिइएको उनले बताए ।
ल्यापटप हस्तान्तरण कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर खत्रीले शिक्षक र विद्यार्थीले प्रविधिको प्रयोग गरी शिक्षण सिकाई गर्नु पर्ने बताए ।
उनले ‘शिक्षण सिकाई प्रभावकारी बनाउँन ल्यापटप वितरण गरेका छौं । त्यसको समुचित प्रयोग गर्न शिक्षकलाई आग्रह छ । भर्खरै नयाँ शैक्षिक सत्र सुरु भएको र कोभिड महामारीले गर्दा सम्पूर्ण शिक्षण सिकाइ वैकल्पिक विधिबाट सुरु गर्नुपर्ने भएको हुँदा ल्यापटप वितरण कार्यक्रम बढी फलदायी हुने देखिन्छ’ भने ।
दैलेख जिल्लामा भने यो पहिलो प्रयास भएको शिक्षा तथा समन्वय एकाईले जानकारी दिएको छ । शिक्षा विकास तथा समन्वय एकाई दैलेखका प्रमुख तेजबहादुर थापाले यो प्रयास राम्रो भएको भन्दै अन्य विद्यालय समेत यस्ता खालका कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए।
यो कार्यक्रमले विद्यालयका शिक्षकलाई वैकल्पिक शिक्षण सिकाइ गर्न दबाब सिर्जना हुने र यसले शिक्षकलाई प्रविधिमैत्री समेत बनाउने उनको भनाइ छ।