खलंगा : जुम्लाको नांगो क्षेत्र हरियो बनाउनको लागि १० हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ । जुम्लाका विभिन्न स्थानीय तहका गाउँपालिकामा गरेर १० हेक्टर जमिनमा वृक्षारोपण गरिएको हो ।
हिमा गाउँपालिका – ६ डाडाबाडामा ३ हजार ५ सय, तातोपानी गाउँपालिका – ७ सर्मिमा ४ हजार ६ सय तिला – ७ तुहिमा तीन हजार गरेर ११ हजा १ सय विरुवा वृक्षारोपण गरिएको हो । समुदायमा आधारित वृक्षारोपण कार्यक्रममा सल्लो, देवद्यार, पीपल, ढटेलो, बकाइनो, धुपी र गुराँस गरी ११ हजार एक सय विरुवा रोपिएको पेस नेपाल अन्तर्गतको क्याप्स कर्णाली परियोजनाले जनाएको छ । समुदाय आफैले २ हजार ६ विरुवाहरु रोपेका छन् । गएको साउन ७ देखि १५ गते सम्म ती ठाउँमा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपणमा पालिकाका जनप्रतिनिधिहरु, समुदायका क र ख वर्गका २५० जना मध्ये ७५ महिला र १७५ पुरुष सहभागी भएका थिए । वृक्षारोपणले नांगो क्षेत्र हरियो हुने,भुमिको संरक्षण हुने, पानीको मुहान नसुक्ने र जलवायु परिवर्तनले पारेका नकरात्मक प्रभावसँग जुध्न र त्यसको असर न्युनिकरणमा मद्धत मिल्ने स्थानीय बताउँछन ।
वृक्षारोपणको क्रियाकलापले स्थानीयलाई जंगल बचाउनु पर्ने सन्देश दिएको छ । जब सम्म वनजंगल जोगाउन सकिदैन् । तब सम्म अनेकन जलवायु परिवर्तनका नकरात्मक असरसँग सामाना गरिरहनु पर्ने भएको स्थानीय बताउँछन् । उनीहरुले, ‘अब खाली क्षेत्रमा वृक्षारोपण गरौँ । जंगल बचाउ, सुखी जीवनयापन बिताउने भन्ने चेतना समुदायमा आएको छ’ भने ।
वृक्षारोपण कार्यक्रम पेस नेपाल अन्तर्गत नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन कार्यक्रम क्याफ्स कर्णाली परियोजना अन्तर्गत गरिएको पाइएको छ ।