जुम्ला : जुम्लाका झण्डै ३ सय घरधुरी किसानलाई उन्नत जातका भेडा, थुमा र बोयरबोका वितरण गरिएको छ । जुम्लाको तिला ,तातोपानी र हिमा गाउँपालिकाका किसानलाई उन्नत जातका भेडा, थुमा र बोयरबोका वितरण गरिएको हो ।
तिला – २ लर्मी, तिला– ९ खोप्री, तिला–६ रिपी, तातोपानी– ७ ताम्ती, हिमा– ७ कुडुमा उन्नत जातका भेडा वितरण गरिएको हो । त्यस्तै तिला – ८ जुम्लाकोट, तिला–६ घोडेसिमममा बोयर जातको एक÷एक बोका वितरण गरिएको पेस नेपाल जुम्लाका क्याप्स कर्णाली परियोजनाका संयोजक मुकेश कुमार शर्माले बताए ।
उनले, ‘पेस नेपाल अन्तर्गत नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्धारा सिर्जित चुनौती अनुकूलन कार्यक्रम (क्याफ्स कर्णाली)” परीयोजनाले नश्ल सुधार कार्यक्रमका लागि उन्नत जातका भेडा तथा बोका वितरण गरेको हो’ भने ।
अब किसानले उन्नत जातको भेडाबाख्रा र बोका पालेर मनग्गे आम्दानी गरेर दैनिक जीवनयापन सहज हुने अपेक्षा राखिएको छ । यसले पशुपालन गर्ने किसानले लाभ प्राप्त गर्नेछन् ।
पशुको वृद्धि विकास छिटो हुने तथा तौल वृद्धि भइ किसानलाई फाईदा हुने परियोजनाका संयोजक शर्माले बताए । उनले भने, ‘भेडा तथा बोका वितरण पछि भेडा तथा बोका पालनतर्फ किसान आकर्षित भएको छन् ।
आयआर्जनमा राहत मिल्ने विश्वास लिएका छन् । यो कार्यक्रम जिल्लाको तातोपानी, तिला र हिमा गाउँपालिकामा लागु भइरहेको छ ।