बुटवल । प्रदेश नं ५ सरकारले बन्दाबन्दीका समयमा पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पु¥याउने काम शुरु गरेको छ । लकडाउनका समयमा नागरिकको आवतजावतले कोरोना भाइरसको जोखिम बढेपछि सरकारले विभिन्न स्थानबाट आउनेलाई खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको छ ।
पूर्वपश्चिम राजमार्गमा काठमाडौंँ, धादिङ, चितवनलगायत जिल्लाबाट आउने मजदूर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापनको काम थालेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
प्रदेशका नाकामा रहेका स्थानीय तहले आफ्नो सीमामा आएका पैदल यात्रुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टाइनमा लगेर स्वास्थ्य जाँँच गर्ने र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने प्रेस सल्लाहकार केसीले बताए । सोका लागि प्रदेश नं ५ सरकारले प्रदेशका १०९ वटै स्थानीय तहलाई रु १० लाखदेखि २५ लाखसम्म विशेष अनुदान दिएको छ ।
प्रदेश ५ को पूर्वतर्फको प्रवेश नाका बर्दघाटसम्म आएकाहरुलाई रोकेर त्यहीँका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । बर्दघाटमा एक सय जना अट्ने अस्थायी क्वारेन्टाइन बनाइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री पोखरेलले निरन्तर राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, नागरिक समाजका अगुवा तथा स्थानीय तहका प्रमुखसँग भिडियो संवाद गरेका छन ।
कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री पोखरेलले निरन्तर राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, नागरिक समाजका अगुवा तथा स्थानीय तहका प्रमुखसँग भिडियो संवाद गरेका छन ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा मुख्यमन्त्री पोखरेलले शुक्रबार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिससका प्रमुख जीतेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खड्का, नागरिक समाजका संयोजक चन्द्रराज पन्तलगायतसँग अहिलेसम्म भएका कामबारे छलफल गरेका छन ।
छलफलमा मुख्यमन्त्री पोखरेलले स्वास्थ्य सामग्री उपलब्ध भएकाले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा सघाउ गर्न उहाँहरुलाई आग्रह गरेका थिए । उनले स्थानीय श्रमलाई प्रयोग गरेर गरिने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकासनिर्माणका काम नरोकी अघि बढाउन पनि निर्देशन दिए ।
मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट समेत लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन । उनले अहिले हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले प्रदेश नं ५ भित्र आइपुगेका सबैलाई प्रहरीको सहयोग लिएर नजीकैको क्वारेन्टाइनमा गएर बस्न आग्रह गरेका हुन ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा छन् । काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आआफ्ना घरतर्फ लागेका छन् । सङ्घीय सरकारले एक पालिकाबाट अर्को पालिका जान समेत रोक लगाएका समयमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापन गर्ने काम थालेको हो ।
प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेशन अस्पतालसमेत निर्माण गरेको छ ।
५२ भारतीय एकान्तवासमा
राँझा– काठमाडौंँका विभिन्न इँटाभट्टामा काम गर्ने भारतीय मजदूरलाई शुक्रबार नेपालगञ्जको एकान्तवासमा राखिएको छ । बन्दाबन्दीमा काम ठप्प भएपछि उनीहरु काठमाडौंँबाट नेपालगञ्ज हुँदै भारततर्फ जान लागेका थिए ।
शुक्रबार बेलुका नेपालगञ्ज आइपुगेका ५२ भारतीय नागरिकलाई नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको एकान्तबासमा राखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले जानकारी दिए ।
भारत तथा नेपाल दुवैतर्फ लकडाउन गरिएकाले सो अवधि सकिएपछि मात्र उनीहरुलाई भारत पठाउन सकिने चन्दले बताए । बाँकेमा अब एकान्तबासमा ३५६ जना भएका छन् ।
४८३ को परीक्षणमा नेगेटिभ
बाँकेमा ४८३ जनाको कोभिड–१९ नमूना परीक्षण गर्दा सबैमा रिपोर्ट नेगेटिभ देखिएको छ । ¥यापिड डायग्नोष्टिक टेष्ट किटबाट ४०५ र पिसिआर विधिबाट ७८ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पिसिआर विधिबाट परीक्षण गर्न भैरहवा पठाइएका थप १४ जनाको नमूनाको रिपोर्ट आउन भने बाँकी छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा १४ दिन पूरा भएपछि किटबाट द्रुत परीक्षण गर्ने कार्य भइरहेको छ ।
रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अरु सात दिन घरमै एकान्तवासमा बस्ने गरी घर फिर्ता पठाउने गरिएको छ ।