सिमकोट : सिंङ्गो गाउँपालिकाका स्वास्थ्य चौकी तथा संस्थाहरुको स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारमा समस्या हुन थालेको छ । भएका स्वास्थ्य चौकीहरुमा दरबन्दी अनुसार जनशक्ति नभएपछि उपचारका लागि आउने बिरामीलाई समस्या हुने गरेको छ ।
चंखेली गाउँपालिकाका स्वास्थ्य चौकीमा उपचार गर्न बिरामी गएपनि आवश्यकता अनुसार स्वास्थ्यकर्मी नभएको कारण समस्या हुन थालेको छ । श्रीमष्ठा स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको व्यवस्था नभएपछि एकातिर बिरामीलाई उपचारमा समस्या हुने गरेको छ भने अर्कोतिर सिमित भएका स्वास्थ्यकर्मीलाई पनि सबै काम आफैले गर्नु पर्ने अबस्था रहेको छ ।
सो स्वास्थ्य चौकीमा उपचारका लागि पुगेकी जयकली रोकायाले दुई घण्टा कुरेर उपचार गरिएको बताइन् । उनले एकातिर बिरामीले थला पारेका बेला अर्कोतिर स्वास्थ्य चौकीमा त्यसै गएर बस्नु पर्दा शास्ती खेप्नु परि रहेको गुनासो सुनाइन् ।
सबै स्वास्थ्यकर्मी पुर्ण रुपमा नहुँदा एक जना स्वास्थ्यकर्मीले बिरामीको उपचारदेखि औषधि वितरण, सुई लगाउने, घाउ सफा गर्ने लगायतको सबै काम गर्नु पर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक कालीबहादुर बुढाका अनुसार चार वटा स्वास्थ्य चौकीमा अहेब, अनमी, एचए गरि ११ दरबन्दी खाली रहेको छ । ती स्वास्थ्य चौकीहरुमा मेल्छाममा दुई जना, श्रीमष्ठामा तीन, मिमीमा तीन र दार्मामा दुई जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको शाखाले जनाएको छ ।
दरबन्दी अनुसार जनशक्ति नहुँदा बिरामीले उपचारमा समस्या खेप्दै आएको बताउँदै उनले दरबन्दी परा गर्न बारम्बार माग गर्दा पनि पुरा नभएको जानकारी दिए । त्यसैगरि उनले छ वटा सामुदायिक स्वास्थ्य इकाईमा पनि साउनबाट भएका दरबन्दीका स्वास्थ्यकर्मी हटाउने प्रदेशको निर्देशनपछि झन समस्या थपिएको बताए ।
भएका स्वास्थ्यकर्मी हटेपछि हाल सबै इकाई बन्द रहेका छन् । त्यसै गरि गाउँपालिका भरि भएको एक वटा प्रसुति गृहमा पनि आवश्यक जनशक्तिको अभाव रहेको जनाइएको छ ।