दैलेख : दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गुणस्तरिय शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको समन्वयमा शिक्षा पत्रकार समुह कर्णाली प्रदेश समितिद्धारा आयोजित ‘गुराँस गाउँपालिकामा शिक्षा संवाद’ कार्यक्रममा अध्यक्ष ओलीले गाउँपालिकाको पहिलो प्राथमिकता गुणस्तरिय शिक्षा भएको बताएका हुन् ।
‘गाउँपालिकामा शैक्षिक गुणस्तर कायम गर्ने लगाएतका शिक्षाको क्षेत्रमा प्रगतिशिल काम भएको छ यद्यपी हाम्रो सोच भन्दा धेरै न्यून अवस्थामा छौ,’ अध्यक्ष ओलीले भने ।
गुराँस गाउँपालिकाको शिक्षा नीति कार्यान्वयनको अवस्था र सिकाई निरन्तरताको लागि भएका अभ्यासबारे आयोजित संवादमा अध्यक्ष ओलीले कानूनी अड्चन, कोरोना भाइरस लगायतका कारण शिक्षाका क्षेत्रमा गर्न खोजिएका धेरै कामहरु गर्न बाँकी नै रहेको बताए ।
ऐन, कार्यविधि र नीतिले मात्र शिक्षा क्षेत्रको विकासमा गाउँपालिकाले लिएको लक्ष अनुरुपमा काम पुरा हुन नसकेको बताउँदै अध्यक्ष ओलीले पर्याप्त बजेट हुन नसक्दा धेरै काम हुनै बाँकी रहेको प्रस्ट्याए ।
गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै कामहरु क्रमशः गर्दै जाने अध्यक्ष ओलीले प्रतिवद्धता जनाए । शिक्षा पत्रकार समुह कर्णाली प्रदेश समितिका सदस्य पत्रकार विशाल सुनारको सहजिकरणमा सञ्चालित शिक्षा संवादमा विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, पत्रकार गैरसरकारी संस्थाका प्रतिनीधिहरुले गाउँपालिकाको शिक्षा क्षेत्रको विकासका लागि सुझावहरु दिएका थिए ।
संवादमा गुराँस गाउँपालिकाको शिक्षा नीति कार्यान्वयनका लागि स्थानिय तहले गरेका प्रयास र अनुभवहरु, कोभिडले शिक्षा क्षेत्रमा पारेको प्रभाव र बालबालिकाको सिकाईलाई निरन्तरता दिनका लागि भएका प्रयासहरु, अपाङ्गता तथा जोखिममा रहेका भएका बालबालिकाका समस्या, चुनौती तथा शिक्षामा पहुँच, गाउँपालिकाको तर्फबाट विद्यालयको प्रभावकारी अनुगमन र सहयोगबारे छलफल भएको थियो ।