काठमाडौं : नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् ।
मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठूलो सङ्ख्यामा भारतका दिल्लीलगायतका शहरमा बिरामी जाने गरेकामा पछिल्लो समय स्वदेशमै उपचार गर्ने प्रचलन बढेर गएको छ । कोभिडका कारण बाहिर जान सहज नभएपछि स्वदेशकै सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको खोजी हुन थालेको छ । निजी अस्पतालको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहाल पछिल्लो समय विदेश उपचार गर्न जानेको सङ्ख्या घट्दै गएको बताए । सुविधासम्पन्न निजी अस्पताल र दक्ष जनशक्ति स्वदेशमै उपलब्ध हुने भएपछि बाहिर उपचार गर्न जानु नपरेको उनको भनाइ छ । सबैभन्दा बढी बिरामी जाने भारतमा हुने अधिकांश उपचार यहीँ हुने उहाँ बताउनुहुन्छ । ९५ प्रतिशतले अहिले नेपालमै उपचार गर्दछन् ।” विश्वमा दक्षिण एसिया र दक्षिण एसियामा नेपाल उपचारमा सबैभन्दा सस्तो भएको जनाउँदै उहाँले अस्पतालजन्य क्षेत्रमा रु तीन खर्बभन्दा बढी निजी क्षेत्रले लगानी गरिसकेको बताए ।
अङ्ग प्रत्यारोपणमा नेपालमा सफलता मिलेकाले उहाँले मिर्गौला प्रत्यारोपण भारतमा भन्दा आधा सस्तोमा यही हुने गरेको जानकारी दिनुभयो । सरकारले निजी क्षेत्रलाई अत्याधुनिक उपकरण खरिदमा भन्सार र करमा छुट गरिदिएमा अझै गुणस्तरमा सुधार गर्न सकिने उनको भनाइ छ । उत्पादन भएको मुलुकबाट सोझै उपकरण ल्याउन पाएमा अस्पताललाई सहज हुने जनाउँदै सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेमा विदेशबाट यहाँ उपचारका लागि आउने बताए । हामी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुँदै गएका छौँ ।” पहिलेदेखि नै बाहिर उपचार गरिरहेका अहिले पनि जाने गरेको भन्दै उहाँले नयाँ पिँढी कम मात्रै उपचार गर्न जाने गरेको बताए । ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल उपनिर्देशक एवं स्पाइनल विभाग निर्देशक डा विनोद बिजुक्छे स्पाइनलसम्बन्धी विश्वमा हुने जुनसुकै शल्यक्रिया र उपचार आफूले गर्न सक्ने दाबी गर्नुहुन्छ ।
हामीसँग आवश्यक आधुनिक उपकरण र दक्ष जनशक्ति छ ।” स्पाइनल सर्जन डा बिजुक्छेले मेरुदण्ड सिधा बनाउनेदेखि जटिल प्रकृतिका शल्यक्रिया आफ्नो नेतृत्वको समूहले गर्दै आएको बताए । स्पाइनलसँग सम्बन्धित जुनसुकै शल्यक्रिया र उपचार अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने गरी हामीले गर्न सक्छौँ ।” यहाँ हुने उपचार भारतका कम अस्पतालमा मात्रै हुने उनको दाबी छ । भारत, थाइल्याण्ड, सिङ्गापुरलगायतका देशका अस्पतालमा पाइने स्वास्थ्य सेवा नेपालमै उपलब्ध हुने बिजुक्छेको भनाइ छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने भारतमा हुने सबै खालको उपचार यहीँ हुने बताए । नेपालबाट ६० प्रतिशत क्यान्सरका बिरामी र ४० प्रतिशत अङ्ग प्रत्यारोपणका बिरामी भारतलगायतका देशमा जाने गरेकामा पछिल्ला दिनमा यहीँका अस्पतालमा उपचार गर्ने गरेको छन् । कतिपय व्यावसायिक संस्थाले कमिसनका नाममा बिरामी विदेश पठाउने गरेको उहाँको आरोप छ ।
मैले फलानो देशमा यो अस्पतालमा उपचार गरेँ भनेर देखाउनका लागि विदेश जाने केही वर्ग छ ।” क्यान्सर रोगको पहिचान गर्ने पेटस्क्यान भित्र्याउन र सञ्चालनका लागि सरकारले सहजीकरण गरिदिएमा कुनै पनि बिरामी उपचारका लागि विदेश जान नपर्ने उनको भनाइ छ । आफ्नो मेडिकल कलेजमा राजधानी काठमाडौँदेखि विभिन्न जिल्लाबाट बिरामी आउने गरेका जनाउँदै उहाँले नेपालको शुल्कमा अन्यत्र कहीँ पनि उपचार सम्भव नभएको बताए ।
अङ्ग प्रत्यारोपणदेखि क्यान्सरको उपचार पनि नेपालमा सम्भव भएको जनाउँदै उहाँले सरकारले सरकारी र निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको ठूलो लगानी भएकाले उपचार र स्वास्थ्य शिक्षाका लागि बाहिरिने ठूलो धनराशि रोक्न पनि राज्यले पहल गर्नुपर्ने भएको छ ।रासस