खलंगा : जुम्लाको सदरमुकाम खलंगामा प्रहरीद्धारा प्राकृतिक रुपमा उम्रिएको गाँजाको बोट नष्ट गरिएको छ ।चन्दननाथ नगरपालिकाको– ५ स्थित चन्नदननाथ बाबाको सेरा जिउलो, बसपार्क, भारतीवाडा , हस्पिटल लाइन र जुगाड खोलाको आसपासको क्षेत्रमा उम्रिएको गाँजालाई प्रहरीले नष्ट गरेको हो ।
शनिबार प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ, जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख (डीएसपी) दान बहादुर थापा नेतृत्वको सुरक्षा नियकायको टोलीले संयुक्त रुपमा उक्त गाँजा नष्ट गरेको हो । जुम्ला स्थित नेपाल प्रहरी, ससस्त्र प्रहरी, नागरिक समाज, र नेपाली सेनाका जवान परिचालन गरी गाँजा नष्ट अभियान चलाएका हुन ।
गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुने भएकोले गाँजा जुम्ला बजार लगायत अन्य ठाउँहरुमा पनि प्रहरी प्रशासनले तुरुन्तै नष्ट गरिने भएको प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले बताए । उनले, ‘जुम्लामा गाँजा खेती नभए पनि प्राकृतिक रुपमा आफै बारीमा उम्रिएको गाँजा सम्भावित स्थानहरुको खोजी गरी प्रहरीले नष्ट गरेको’ भने ।
जुम्लामा गाँजा खेती नभएपनि प्राकृतिक रुपमा धैरै उम्रिने गरेको छ । यसलाई नष्ट गर्नका लागि जुम्ला जिल्ला भरीका प्रहरी चौकी र प्रहरी इकाइलाई निर्देशन समेत लिइएको थापाको भनाइ छ ।
उनका अनुसार प्रत्येक वडाका जनप्रतिनिधि, नागरिक समाज, राजनितिकदल लगायतको सहभागिमा सबैलाई गाँजा नष्ट गर्ने निर्देशन दिइएको बताए । शनिबार झण्डैं ३ विगाह क्षेत्रफलमा रहेको गाँजाको बोट नष्ट गरेको छ । प्रहरीले गाँजा उम्रिने स्थानीयहरुमा खोजी गरिरहेको छ ।