काठमाडौ । प्रदेश र पालिका सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन उल्ट्याएका छन । शुक्रबार आफ्ना मन्त्री र सुरक्षाका प्रमुखलाई बोलाएर लकडाउन कडाईका साथै आवतजावत बन्द गर्न निर्देशन दिएका प्रधानमन्त्री ओलीको आदेश बाग्मति प्रदेश, प्रदेश ५, काठमाडौँको चन्द्रगिरी नगरपालिका लगायतले उल्ट्याएका हुन ।
शुक्रबार नै प्रधानमन्त्रीको आदेश ठप्प पार्नु भन्ने भएपनि प्रदेश ५ ले शनिबार बिहानैदेखि पैदल यात्रुको व्यवस्थापन र गाडी आवागमनलाई सहज पारेको थियो । शनिबार बेलुकी मात्रै बाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पैदल यात्रुको आवतजावतलाई व्यवस्थापन गर्न आफन मन्त्री र पालिकालालाई निर्देशन दिएका छन ।
वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाण्डौंबाट हिँड्दै घरजाने क्रममा मकवानपुर पुगेका विभिन्न जिल्लाका पैदलयात्रीलाई आआफ्नो घरजाने व्यवस्था गरिदिएका हुन ।
उनले मकवानपुरको भीमफेदी पुगेका पैदलयात्रीलाई उनीहरुको गृहजिल्लासँगको समन्वयमा घर पठाउने व्यवस्था मिलाए । अलपत्र परेका पैदलयात्रीलाई व्यवस्थापन गर्न तथा खाना खुवाउन दुम्की रक्स नामक एक संस्थाद्वारा तयार पारिएको शिविरमै पुगेर मुख्यमन्त्री पौडेलले पैदलयात्रीसँग कुराकानीसमेत गरेका छन ।
सो अवसरमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकार मानवताको पक्षमा रहेको बताए । उनले अलपत्र परेका यात्रुहरुसँग काठमाण्डौं छाड्नुपर्ने कारणका बारेमा सोधेका थिए । जवाफमा कतिपय यात्रुले काम नभएको, आफूहरुसँग भएको खर्च सकिएको तथा मजदूर भएका कारण प्राप्त राहत अपुग भएकाले घर फर्कनुपरेको बताएका थिए ।
काठमाण्डौंबाट पैदलयात्राका क्रममा भीमफेदी आइपुगेका यात्रुका लागि स्थानीय दम्की रक्स भीमफेदी नामक संस्थाले खाना खाने तथा बास बस्ने व्यवस्थासमेत गरेको स्थानीय पत्रकार सुरेन्द्र थिकेले जानकारी दिए ।
यसैबीच सर्लाही जाने पाँच जनाको टोलीलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैयासम्म पठाएका छन । पथलैयामा आफ्ना नागरिकलाई लिन सर्लाहीको हरीवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले गाडी पठाएका थिए । हरिवनका नगर प्रमुख प्रसाईलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गरेर गाडी पठाउन भनेको अध्यक्ष लामाले बताए ।
कोरोना जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौँमा खान समस्या पर्न थालेपछि घर हिँडेको मजदूरले बताएका छन् । घर जान उनीहरु बिहान ५ः०० बजे काठमाडौँबाट हिँडेर अपराह्न करीब ४ः०० बजे भिमफेदी आईपुगेका थिए ।
उनीहरुलाई गाउँपालिकाले दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको छ । लकडाउनका कारण हिँडेर आएर अलपत्र परेका सबै पैदल यात्रुलाई खानाको व्यवस्था गरेर गन्तव्यमा पु¥याइने लामाले जानकारी दिए ।
यात्रुको उद्धारमा मुख्यमन्त्री पौडेलसँग समन्वय गर्नुभएका अध्यक्ष लामाले अलपत्र यात्रुलाई खानपिन र बास बस्ने व्यवस्थाका लागि भएको सम्पूर्ण खर्च भीमफेदी गाउँपालिकाले व्यहोर्ने बताए ।
प्रधानमन्त्री ओलीले लकडाउन थप कडाई गरेर आवतजावत ठप्प पार्न भनेपनि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शनिबार बिहानैबाट पैदलयात्रीको उद्धार गरेर उनीहरुको गन्तव्यसम्म पुर्याउन शुरु गरेका थिए । सँगै बाग्मती प्रदेशले पनि प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्दै पैदलयात्रुको व्यवस्थापनमा लागेको हो ।
केन्द्र सरकारले निर्देशन जारी गरेपनि प्रदेश र पालिका सरकार स्वायत्त र स्वतन्त्र हुने भएकाले आफ्नो निर्णय गर्न सक्छन ।