गण्डकीः डिभिजन वन कार्यालय कास्कीद्वारा सञ्चालित वन नर्सरीमा डाँलेघाँसका बिरुवाको माग अत्यधिक रहेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवा वर्ग व्यावसायिक पशुपालनतर्पm लागेसँगै डाँलेघाँसका बिरुवाको माग ह्वात्तै बढेको हो ।
कोरोना महामारीसँगै मुलुकमा व्यावसायिक पशुपालक कृषकको सङ्ख्या बढेको कारण वन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिललगायतका रु एक लाख ५० हजार डाँलेघाँसका बिरुवा निःशुल्क वितरण गरिएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा घाँस र फलफूलका बिरुवाको माग लिएर आउने अधिकांश युवा वर्ग रहेको बताउँदै उहाँले विदेशबाट फर्केका युवाको व्यावसायिक बाख्रापालनतर्पm आकर्षण बढेसँगै डाँलेघाँसका बिरुवाको माग बढेको बताए । “विगतमा डिभिजन वन कार्यालयद्वारा महेन्द्रगुफामा स्थापना गरी सञ्चालन गर्दै आएको वन नर्सरीमा उत्पादित बिरुवा मात्र वितरण गरिँदै आएको थियो”, उनले भने, “यस वर्ष भने गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको थप रु दुई लाख आर्थिक सहयोगले चारवटा नर्सरीबाट उत्पादित बिरुवा कृषकलाई वितरण भइरहेको छ ।”
बिरुवा उत्पादनका लागि प्रत्येक नर्सरीलाई रु ५० हजारका दरले उपलब्ध गराइएको थियो । वन नर्सरीमा बिरुवा उत्पादन गर्नका लागि आवश्यक झाडी सरसफाइ, पोलिथिन ब्याग भर्ने, गोडमेल गर्ने कार्यमा छ महिनाका लागि धेरैले रोजगारसमेत प्राप्त गर्दै आएका छन् ।
डिभिजन वन कार्यालय कास्कीको बाटुलेचौरसँगै वन विज्ञान अध्ययन संस्थान, पोखरा महानगरपालिका–३० खुदीस्थित लेखनाथ सबडिभिजन वन कार्यालय, रानीवन र कुँडहर सबडिभिजन वन कार्यालय परिसरमा स्थापित नर्सरीमा डाँलेघाँसलगायत, फलफूल तथा जडीबुटी र काठका लागि उपयोगी विभिन्न जातका तीन लाख १८ हजार बिरुवा उत्पादन गरी वितरण गरिएको अधिकृत बरालको भनाइ छ ।
डिभिजन वन कार्यालयद्वारा स्थापना गरी सञ्चालनमा आएको पोखरा–१६ बाटुलेचौरको नर्सरीमा अत्याधुनिक प्रविधिसहितको वातानुकुलित हाइटेक निर्माण गरिएको छ । हाइटेकभित्र उमारिएका बिरुवा दुई पाते भएपछि पोलिथिन ब्यागमा राखेर बाहिर प्लाष्टिकको छहारीमा राखेर हुर्काउने व्यवस्था मिलाइएको छ । हाइटेकभित्र लगाइएको बीउ ७० प्रतिशतभन्दा बढी उम्रने गरेको छ ।
लेखनाथ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विश्वकर्माका अनुसार नर्सरीमा जडीबुटी प्रजातिका कुरिलो, तेजपात, हर्रो, बर्रो, अमलालगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राईखनियो, इपिलइपिल, नास्पति, हलुवावेद, अम्बालगायतका ४० हजार बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गरिएको छ ।
पोखरा महानगरपालिका–३० द्वारा उपलब्ध गराइएको दुई रोपनी सार्वजनिक जग्गामा यसै वर्ष स्थापना गरी सञ्चालनमा आएको वन नर्सरीमा सबैभन्दा बढी डालेघाँसका बिरुवाको माग भएको उहाँको भनाइ छ । नर्सरीमा केही अन्य बिरुवा अहिले पनि रहेका भए पनि राईखनियोलगायतका डाँलेघाँसका बिरुवा माग भएअनुसारको किसानलाई पु¥याउन नसकिएको अधिकृत विकले गुनासो सुनाए ।
सबडिभिजन वन कार्यालय कुँडहर र रानीवनमा सञ्चालन गरिएको नर्सरीमा ३०÷३० हजार र वन विज्ञान अध्ययन संस्थानको नर्सरीमा सात हजार राईखनियोसहित विभिन्न प्रजातिका ५० हजार बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत ममता गौतमले जानकारी दिए ।
उनका अनुसार कोरोनाका कारण यस वर्ष कास्कीमा विभिन्न पर्व तथा लायन्स क्लबहरुले समेत विगतको तुलनामा वृक्षरोपण कार्यक्रम खासै नभएको कारण अन्य बिरुवाको तुलनामा बाख्रा फार्मबाट बढी डाँलेघाँसका बिरुवाको माग आएको हो ।
सङ्घ सरकारकारमार्पmत दुई लाख ४८ हजार ३३३ वटा बिरुवा उत्पादनका लागि रु ३८ लाख सशर्त अनुदान र गण्डकी प्रदेश सरकारबाट ६५ हजार बिरुवा उत्पादनका लागि रु १२ लाख प्राप्त भएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत कमल लम्सालले जानकारी दिए। कोरोना भाइरसको सङ्क्रमण बढेसँगै व्यापार व्यवसाय ठप्प भएपछि गाउँ फर्कने र विदेशबाट फर्केकाको रोजाइ गाउँको बाँझिएको जग्गामा डाँलेघाँस लगाउने र पशुपालन गर्नेतर्फउन्मुख भएका कारण बिरुवाको माग बढेको सरोकारवालाको भनाइ छ । रासस