सिमकोटः दश दिनअघि हुम्ला कवाडी खोलाको माथिल्लो क्षेत्रमा पर्ने कोठेपुल तर्ने क्रममा लडेर बेपत्ता भएकाहरु अझै भेटिएका छैनन् । स्थानीय र प्रहरीले दैनिक खोजी गरिरहेका छन् । दश दिन पुग्यो नभेटिएको प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माले बताए ।
जडिबुटी संकलन गर्न जाने क्रममा कवाडी खोलाको काठेपुल तर्ने क्रममा लड्दा खोलामा परेका दुबै जना हालसम्म बेपत्ता भएका हुन । वर्खामा बढेको खोलाको पानीले कुन चिरा खसालेको छ त्यसको कुनै हालसम्म पत्तो लाग्न नसकेको उनले बताए । आफन्तले पाउने आशा पनि मारि सकेको जनाएका छन् ।
खार्पुनाथ गाउँपालिका– २ थाली गाउँका स्थानीय दुई जना जडिबुटी संकलन गर्न जानेक्रममा हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीको काठेपुल तर्ने क्रममा गत साउन २८ गते खस्दा खोलामा बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा ३५ वर्षीय जस बहादुर रावल र १७ वर्षीया सुनिता रावल रहेका छन् । कवाडी खोलामा पुल तर्ने क्रमा पहिला सुनिता खस्न लाग्दा जस बहादुर उद्धार गर्न जाने क्रममा उनी पनि संगै खोलामा लडेर बेपत्ता भएका थिए ।
उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी संकलन गर्न जानेक्रममा पुलबाट लडेर बेपत्ता भएका थिए । हराई रहेकाहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
कवाडी खोलामा खसेका दुई जनाको खोजीका लागी मैला कवाडी र खार्पु प्रहरी चौकीको टोलीलाई खोजीका लागी परिचालन गरिएको थियो । त्योसँगै ठुलो संख्यामा स्थानीय पनि खोजीमा लाग्नु भएको प्रहरीले जनाएको छ ।
जडीबुटी संकलनका लागि थाली गाउँका करिब ३० जनाको टोली गएको स्थानीयले बताएका छन् । हुम्लासहित बाजुरा, मुगु, बझाङ जिल्लाबाट यो समयमा जडीबुटी संकलन गर्न पाटनतिर जाने गर्दछन् ।