खलंगा : महालेखा परीक्षकको प्रतिवेदनका अनुसार जुम्लाको सबै भन्दा बढी तिला गाउँपालिकाले र सिंजा गाउँपालिकाको बेरुजु देखाएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८ प्रतिवेदन सार्वजनिक गरेसँगै उक्त बेरुजु देखाएको हो । कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीलाई प्रतिवेदन बुझाउँदै सार्वजनिक गरेको थियो ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार जुम्लाका ८ स्थानीय तहमध्ये सबै भन्दा बढी बेरुजु सिंजा गाउँपालिकाको रहेको छ । सिजामा १९ दशमलव ०३ प्रतिशत अर्थात १२ करोड ६४ लाख २४ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै तिला गाउँपालिकाको बेरुजू रकम बढी रहेको छ । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात ११ करोड ७५ लाख ६९ हजार रहेको छ ।
यस्तै चन्दननाथ नगरपालिकाको ६ प्रतिशत अर्थात ५ करोड ६६ लाख ८९ हजार रुपियाँ रहेको छ । कनकासुन्दरी गाउँपालिकाको ५ दशमलव ०१ प्रतिशत अर्थात ३ करोड ३८ लाख १२ हजार, पातारासी गाउँपालिकाको ४ दशमलव ९८ प्रतिशत अर्थात ३ करोड ४८ लाख ५ हजार रुपियाँ बेरुजू देखिएको छ ।
हिमा गाउँपालिकाको १ दशमलव ३१ प्रतिशत अर्थात ८४ लाख ४३ हजार, गुठीचौर गाउँपालिकाको शून्य दशमलव ८२ प्रतिशत अर्थात ४५ लाख ४९ हजार र तातोपानी गाउँपालिकाको शून्य दशमलव ७३ प्रतिशत अर्थात ४६ लाख ८५ हजार रुपियाँ बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कनकासुन्दरी गाउँपालिकाको ६७ करोड ५३ लाख ४६ हजार, गुठीचौरको ५५ करोड ४८ लाख १० हजार, तातोपानीको ६३ करोड ९३ लाख ८ हजार रकम लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै तिला गाउँपालिकाको ८४ करोड ५३ लाख ७८ हजार, पातारासीको ६९ करोड ८३ लाख १८ हजार, सिंजाको ६६ करोड ४४ लाख ३९ हजार, हिमाको ६४ करोड ४९ लाख ३ हजार र चन्दननाथ नगरपालिकाको ९४ करोड ५५ लाख ५३ हजार रकम लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।