एजेन्सी । भारत र न्युजिल्याण्डले आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेका छन । सिड्नीमा शुक्रबार घरेलु टिम अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।
भारतले दिएको १ सय ३३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १५ रनमा समेटियो ।
अष्ट्रेलियाका एल्स्या हेलीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकिनन् । हेलीले ३५ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाएर आउट भइन् ।
यस्तै अष्ट्रेलियाकी एश्लेग गार्ड्नेरले ३४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । भारतको जितमा पुनम यादबले ४ विकेट लिइन् । यस्तै शिखा पाण्डेले ३ विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ सय ३२ रन बनाएको थियो । उसका दिप्ती सहरमाले ४९ रनको ऐजित पाली खेलिन् ।
यस्तै शफाली बर्माले २९ जेमिमा रोड्रिगिउजले २६ रन को योगदान गरिन् । जितसँगै भारतले समूह ए मा २ अंक जोडेको छ ।
श्रीलंकामाथि न्युजिल्याण्डको जित
महिला विश्वकमा न्युजिल्याण्डले पनि विजयी शुरुवात गरेको छ । शनिबार भएको खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै न्युजिल्याण्डले विजयी शुरुवात गरेको हो । श्रीलंकाले दिएको १ सय २८ रनको लक्ष्य न्युजिल्याण्डले १४ बल बाँकी छदै ३ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान सोफी डेभिनीले नटआउट ७५ रनको योगदान दिइन ।
त्यसअघि व्याटिंग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । उसका लागि कप्तान चमारी जयंगानीले ४१ रन बनाउन सकिन । जितसँगै न्युजिल्याण्ड नेटरनरेटका आधारमा भारतलाई पछि पार्दै समान २ अंकसहित समूह ए को शीर्ष स्थानमा छ ।
कमजोर थाइल्याण्डमाथि वेष्ट इण्डिजको प्रभावशाली जित
यस्तै महिला विश्वकपमा वेष्ट इण्डिजले थाइल्याण्डलाई हराएको छ । पहिले व्याटिंग गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७८ रन मात्रै बनाउन सक्यो । जवाफी व्याटिंगमा आएको वेष्ट इण्डिजले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर ८० रन बनायो ।
जितसँगै वेष्ट इण्डिज २ अंकसहित समूह बी को शीर्ष स्थानमा छ ।