काठमाडौं : हिन्दु धर्मावलम्बीहरूद्वारा प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पर्व रक्षाबन्धन सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र (डोरो) बाँधेर मनाइँदै छ। रक्षाबन्धन धागोले धन, शक्ति, हर्ष र विजय प्राप्त गराउँछ भन्ने भन्ने धार्मिक मान्यता रहेको छ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल” भनी रक्षासूत्र रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितले यजमानको नाडीमा बाँधिदिने परम्परा छ ।
आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्ने परम्परासमेत छ । यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने गरिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।
स्नानपछि जौतिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । यसरी जनै फेर्ने गरिएकाले नै आजको दिनलाई जनैपूणिर्मासमेत भनिन्छ ।
वैदिक गुरु परम्पराको पूर्वीय दर्शनअनुसार जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ भने अर्को डोराका तीन शिखालाई कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ । आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषितर्पणीसमेत भन्ने गरिएको हो । विशेषतः आजको दिन सप्तषिर्लाई तर्पण दिने गरिन्छ ।