सञ्चिता घिमिरे/रासस
“हिजो त हामी कसैले चामल, कसैले दाल र कसैले नुन दियौँ र सबै परिवारले खान पाए”, छिमेकीहरु भन्छन्, “सधैँ दिन हामीसँग नि के छ र ?” मनोहरास्थित सुकुम्बासी बस्तीका जाहिर भाटको नौ जनाको परिवार बिहीबार राति भोकै सुत्यो ।
यो कुरा घरसँगैकी छिमेकी आमाले थाहा पाइन । उनीबाट परिवार हुँदै टोलभरि हल्ला फैलियो र सबैले सक्ने खाद्यान्न दिए । शुक्रबार बिहान दिएको खानेकुराले उनीहरुले त्यो दिन र शनिबार दुई छाक पेटभरि खाए । अझै दुई–तीन दिनलाई पुग्ने दाल र चामल छ । त्यो सकिएपछि भने के गर्ने ? उनीसँगै त्यसको जवाफ छैन ।
बजारमा अहिले ग्यास अभाव नभएको जाहिरले सुन्दै आएका छन । उनीसँग भएको एउटा सिलिण्डर रित्तिएको पनि एक साता भयो । तर पैसा नहुँदा उनले किन्न सकेका छैनन । दैनिक चौरमा गएर भेटिएका कागज, दाउराका टुक्रा बटुलेर ल्याउने गरेको उनले बताए । “बाल्ने कुराभन्दा पहिले खानेकुरा नि चाहियो ।” उनले यतार्थ बोले ।
मध्यपुरथिमि नगरपालिकाले बाँडेको राहत उनले पनि पाएका थिए । गत चैत २५ गते वडा कार्यालयले राहत वितरण गर्दा १० किलो चामल दिएको थियो । सात जनाको परिवारमा त्यो चामल चार–पाँच दिनमै सकियो । उनले फेरि पनि राहतका लागि वडामा सम्पर्क गरेका छन । तीन–चार दिनदेखि भोलि आउँछ भन्ने जवाफ पाइरहेको उनले बताए । “आउँछ त भन्नुभएको छ तर कहिले पाइन्छ भन्ने थाहा छैन ।” उनले अलमलको जवाफ फर्काए ।
उसो त जाहिरको हातमुख जोड्ने समस्या लकडाउनले निम्त्याएको होइन । सात सन्तानका बुबा उहाँ बस्तीमै रहेको सानो छाप्रोमा बस्दै आएका छन । पुख्र्यौली घर सर्लाही भए पनि अहिले त्यहाँ उनको केही छैन । यही रहेको घरमा एउटै कोठामा नौ जनाको परिवारले वर्षाँैदेखि गुजारा गर्दै आएको छ । त्यही एउटा सानो सटरमा उनको लुगा सिउने मेसिन छ ।
त्यो मेसिन नै उनको हातमुख जोड्ने आधार हो । पहिले पनि पुगनपुग गर्दै उनले निर्वाह गर्दै आएका थिए । “अहिले न त साथमा पैसा छ न त बाँकी खानेकुरा नै ।” मुख निन्याउरो पार्दै उनले भने ।
बर्षौदेखि लुगा सिलाउने काम गर्दै आएका उनले लकडाउनयता काम नै नआएको बताउने गरेका छन । कामको अर्डर भए घरमै बसेर गर्न सकिने भए पनि अहिले बजार बन्द हुँदा कसैले कपडा किन्न पाएका छैनन् र उनले सिउने काम पाएका छैनन ।
उनका सात जना सन्तान कहिले के खाने त कहिले के खाने भन्दै बुबाआमालाई सताउँछन् । उनीहरु भने उनीहरुलाई गाली गर्ने वा फकाउने गर्छन । छिमेकीले दिएको खानेकुरा पु¥याएरै खानुपर्ने बाध्यता छ ।
लकडाउन अवधि थपिरहँदा उनलाई भने हातमुख जोड्ने कसरी भन्ने नै चिन्ता छ । अझै लम्बिरहे काम पनि नहुने र खान अझै गाह्रो हुने उनले बताए । “कहिले काम गरेर दुई पैसा कमाउनु भन्ने चिन्ता छ ।” उनले बाध्यता सुनाए ।
जाहिरकी छिमेकी पम्फा तामाङले बस्तीमा धेरै व्यक्ति दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने बताए । लकडाउनका कारण काम गर्न नपाउँदा धेरैको घरमा अन्न र पैसा सकिँदै छ । वडा कार्यालयले यहाँका अधिकांशलाई राहत दिएको छ ।
कतिपयलाई राहतको खाद्यान्न र घरमा बचेको खाद्यान्नले समस्या नभए पनि ठूलो परिवार भएकालाई भने निर्वाह गर्न कठिन छ । जाहिरको जस्तो एक जनाले कमाएर सिङ्गो परिवार पाल्नुपर्नेलाई गाह्रो भएको उनले बताए । परिवारका दुई–तीन र १०–१२ जना हुनेलाई राहत बराबर छ । “ठूलो परिवार हुनेलाई त १० किलो चामल कति दिनलाई पुग्छ र ?” उनले भने ।