काठमाडौं : नेकपा एमालेको उथलपुथल कर्णालीबाटै सुरु भयो । त्यो उथलपुथलले दम्भ अहंकार बोकेको ओली सत्ता बालुवाटारबाट बार्दलीसम्म पुग्यो । कर्णालीमा पनि यामलाल कँडेलको मुख्यमन्त्री बन्ने च्याप्टर क्लोज भयो । यो मात्रै होइन् अन्ततः एमाले चिरैचिरा भयो ।
औपचारिक रुपमै एमाले फुट्यो । माधव नेपालको छुट्टै दल (नेकपा एकीकृत समाजवादी) बन्यो । एमालेबाटै ओली बार्दलीतिर लाग्दा र माधव बालुवाटारतिर लाग्ने अवस्था पुग्यो । यसबीच एमालेमा थुप्रै घटना क्रमहरु छन् । उक्त मध्येको एक हिस्सा कर्णालीको ‘फ्लोर क्रस’ पनि हो ।
गएको बैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तत्कालिन माधव समुहका चार जनाले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिए । ओरालो लागेको माओवादी नेतृत्वको सत्ता माधव समूहको ‘फ्लोर क्रस’ले जोगियो ।
तत्कालिन कर्णालीमा माओवादी अल्पमतमै थियो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीको १२ सिट मात्रै छ । सभामुख राजबहादुर शाहीसहित २० सिट एमालेको थियो । नेपाली कांग्रेसको ६ र राप्रपाको १ सिट रहेको छ । एकल बहुमत एमालेकै थियो ।
कांग्रेस र माओवादी मिलेर पनि मुख्यमन्त्रीको कुर्सी जोगिनेवाला थिएन । महेन्द्र शाहीले विश्वासको मत पाउनेवाला थिएनन् । केन्द्रमा ओली प्रदेशमा यामलालको दम्भ र अहंकारले ‘फ्लोर क्रस’ हुन पुग्यो । ‘फ्लोर क्रस’को दुई दिनमै माधव समूहका तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्रीपद उपहार दिए ।
जुन उपहार पाउनेमा डोल्पाका सांसद नन्दसिंह बुढा, दैलेखका सांसद अमरबहादुर थापा र कालीकोटका सांसद कुर्मराज शाही परे । अहिले पनि बुढा उद्योग, थापा भौतिक पूर्वाधार, शाही भुमि व्यवस्था मन्त्री छन् ।
तत्कालिन नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेलले प्रतिपक्षीमा रह्रे पनि सदनदेखि सडकसम्म दम्भ र अहंकार शैली प्रयोग गरे । त्यो पनि ओलीकै निर्देशनबाट । ‘फ्लोर क्रस’ गरेकाहरुलाई अपराधिसम्म भन्न पुगे । संसद महिनौं दिन चलेन । अपराधी बस्ने कारखाना भयो भन्दै ओली पक्षकाहरुले विरोध जनाइ रह्रे ।
केन्द्रमा ओली र माधव भएजस्तै कर्णालीमा यामलाल कँडेल र प्रकाश ज्वालाको ‘फाइट’ उस्तै थियो । यामलालकै निर्देशनमा ओली र एमालेले ‘फ्लोर क्रस’ गर्ने चार जनालाई पदमुक्त गरिदिए । एमाले भित्रै माधव र ओलीको लडाइँसँगै ‘फ्लोर क्रस’को एक घटनाले एमाले फुट्न पुग्यो । माधव नेपालले वर्षौसम्म संघर्ष गरेको पार्टी ओलीको हात पार्नु पर्यो ।
अन्ततः प्रचण्डकै डिजाइनमा माधव नेपालले पार्टी फुटाएर नेकपा एमाले समाजवादी हुँदै नेकपा एकीकृत समाजवादीसम्म पुगे । एमाले समाजवादी केही दिन रह्रो । आयोगले एकीकृत समाजवादीलाई अघि बढायो ।
निर्वाचन आयोगमा दर्ता प्रक्रियामै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले शनिबार दैलेखमा जिल्ला भेला गर्यो ।
उक्त भेलामा दुई पालिकाकाका अध्यक्ष उपाध्यक्षसहितको उपस्थिती समेत थियो । भेलामा दैलेख भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लको उपस्थिती थियो ।
यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही र ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह पनि भेलामा आएका थिए । बाहिर ठोस निर्णय नआएपनि भित्रै रुपम एमाले गाउँ नगरसम्म चिरैचिरा भइसकेको देखिन्छ । कर्णाली प्रदेश सभामा नेकपा एमाले बलियो देखिएपनि जिल्ला गाउँ नगरसम्म एकीकृत समाजवादी पनि उत्तिकै रहेको देखिन्छ ।