महावु लेख दैलेख जिल्लाको सबै भन्दा अग्लो स्थान हो । कालीकोट जिल्ला र दैलेख जिल्लाको सीमानामा पर्ने महावु धामको नामबाट नामांकित समुद्र सतहबाट करिब ४ हजार एक सय ६८ मिटरमा छ । यो दैलेख जिल्लाको सबै भन्दा अग्लो मानिन्छ् ।
भौगोलिक रूपमा विकट भएता पनि यो स्थान धार्मिक तथा पर्यटन क्षेत्रको धनि स्थान मानिएको छ । महावु धाम, जगन्नाथ र महावइका पवित्र मन्दिरहरू यस स्थानमा पर्ने हुनाले यो एक पवित्र धार्मिक स्थल हो । महावुको चुचुरोबाट दैलेख, कालीकोट, जुम्ला र जाजरकोट जिल्लाका अधिकांश भुभागसहित सुर्खेत, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्लाका शिखरहरूको रमणिय दृश्य निहालेर हेर्न सकिन्छ ।
हिउँदमा हिम क्रिडा गर्ने स्थान भएकाले दैलेख जिल्लाको सबै भन्दा बढी महत्वपुर्ण पर्यटकीय स्थलमा पर्छ । २०७३ साल फागुन २७ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ वटा नयाँ स्थानीय तहहरू बनाउने क्रममा यहीँ स्थानको नामबाट दैलेख महावु गाउँपालिकाका स्थापना गरिएको छ ।
यस स्थानमा ढुंगाबाट उत्पति भएको शिवलिङ्ग छ । परम्परागत रुपमा महादेव शिवको उत्पति भएको कैलाश स्थानका रुपमा महाबु धाम प्रख्यात छ । दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुङ्गामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने शर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्न समेत आएको दैलेखका आचार्य ब्राह्मण नरेन्द्र उपाध्यायले जानकारी दिए । दिनहुँ दूध चढाइने उक्त ढुङ्गाबाटै फुटेर शिवलिङ्ग बनेको अहिले पनि जस्ताको तस्तै देख्न सकिन्छ । दैलेख, भुर्तीका आचार्य ब्राह्मणले ल्याएको दूध चढाउने र कालीकोटका काफ्लेले नै अहिलेसम्म शिव देवताको पहिलो पूजा गर्ने गर्छन् ।
सधैँ झै यस वर्ष पनि महाबु (गाथ) जानेको घुइँचो उस्तै देखियो । ज्यानको बाजी थापेर मेलामा पुग्नुपर्ने बाध्यता छ । यस वर्ष पनि कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगञ्ज, लगाएतका ठाउँबाट तीर्थालु उत्तिकै छन् ।
जनै पूर्णिमामा महाबु (गाथ) मेला दुई दिन लाग्ने गरेको छ । वर्षातमा लाग्ने भएकाले यहाँ बिहानीपख सूर्योदयसँगै घामका किरणले शरीर तातिए पनि छिनछिनको हुस्सु र कुहिरोले महाबु मेला लाग्ने पाटनलाई ढाक्ने हुनाले जाडो पनि उत्तिकै महसुस हुन्छ । छिनछिनमै घाम र कुहिरोको लुकामारीले महाबुमेलामा मनोकांक्षा लिएर गएका हजारौं भक्तजन आनन्द लिने गर्छन् ।
पाटनकाबीच बीचमा ससाना ताल, नजिकै केही गाईगोठ र वरपर चौरमा भेडाबाख्रा चरनले महाबुको महिमा बेग्लै देखिन्छ । कसैले शान्तिभूमिको संज्ञा दिन्छन् भने कोही शिव पार्वतीले तपस्या गरेको हुन सक्ने आँकलन गर्दछन् । कतैतिर बुकी फुलेर सेताम्य छ । अन्य रङ्गिविररङ्गि फूलले विवाह मण्डलझैं देख्दा भक्तजनको आँखा फूलको यौवनबाट यताउता लिन फूर्सद नै हुँदैन् । हावाको सिरेटोसँग फूल हल्लिरहेको हेर्न उत्तिकै आनन्द आउँछ । पाटनमा...
अर्कोतिर हरियो घाँसपात र भेडाबाख्रा, गाईगोरु चर्दै गरेको दृश्यले पाटन सिंहासनमा बसेको शालीन शासकको जस्तो पनि देखिन्छ । चारैतिर समतल फाँट बीच–बीचमा ससाना ताल, वरिपरि हरियो घना जंगलले गर्दा झनै शालीन स्वभावको देखिन्छ, महाबु ।
कुहिरो, बादल, तराई फाँट र पहाडका हिमशृंखलाका दृश्यले देख्न पाइने हुँदा धरोहरको संज्ञा दिन्छन् त कसैले ज्ञान आर्जन गर्न सक्ने वनस्थिल हो भनेर आँकलन गर्छन् । महाबुमा पुगेर मागेको वरदान पूरा हुने जनविश्वास छ । सन्तान नहुने परिवारले पूरा हुने बुढापाका बताउँछन् ।
यहाँ ढुंगाबाटै फुटेर शिवलिंग बनेको देख्न सकिन्छ । निकै अग्लो भूभागमा रहेको रमणीय पाटन क्षेत्रमा एकैछिनमा पानी पर्ने अनि पुनः बादलले ढाक्ने हुँदा पनि पर्यटक आकर्षित हुने गरेका छन् । तर, महाबुबारे प्रचार प्रसार हुन नसक्दा अहिलेसम्म आन्तरिक बाहेक बाह्य पर्यटकले पाइला टेकेका छैनन् । चिसो र लगातार वर्षा हुने भूभाग भएकाले भक्तजनले कष्ट साथ रात गुजार्नुपरेको भक्तजनले बताएका छन् ।