काठमाडौँ : आइतबार बेलूकी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एउटा सनसनी फैलियो । कर्णालीका एक जना मन्त्रीले महिलालाई बलात्कार गरेको आशयका स्टाट्स आउन थाले । कतिपयले बलात्कारलाई चमत्कार भन्दै पनि व्यंग्य गर्न थाले ।
पत्रकार नगेन्द्र उपाध्यायले फेसबुकमा लेखेका छन्, 'सांसद हुँदाको चमत्कार । मन्त्री भएछि बलात्कार भएछ ।'
सुरुमै उनले नै फेसबुकमा स्टाट्स लेखेको देखिन्छ । यसको सार थियो । कर्णाली प्रदेशका कृषि, भूमि तथा सहकारीमन्त्री कुर्मराज शाहीमाथिको बलात्कार आरोप । उनीमाथि बलात्कार आरोप भनिएपनि यौन दुर्व्यवहारको आरोप लागेको समाचार बाहिर आयो ।
सामाजिक सञ्जालमा यसबारे अन्यौल बढेको बेला कालिकोटको डेटलाइनमा पत्रकार विस्नप्रसाद न्यौपानेले अन्नपूर्णपोष्टमा समाचार लेखे । कर्णालीका कृषिमन्त्री माथि बलात्कारको आरोप शीर्षकमा उनले लेखेको समाचार प्रकाशित भएपछि भाइरल बन्यो ।
शनिबारदेखि नै सुर्खेतमा गाँईगुँई चलिरहेका हल्लासँगै समाचार प्रकाशन भएपछि भाइरल बन्यो । सामाजिक सञ्जालमा थुप्रै स्टाट्स पोस्ट भए । कर्णाली प्रदेश सरकार फेरि एकपटक काण्ड बन्दै आलोचित बन्न थाल्यो ।
समाचार हेर्दा मन्त्री शाहीले २०७६ सालमा तत्कालिन स्वकीय सचिवकी श्रीमतिमाथि यौन दुर्व्यवहार गरेको उल्लेख छ । तर भिडियो सार्वजनिक भएको छ भनेर लेखिएको समाचारमा भिडियो छैन । भिडियो नभएपछि धेरैले यो समाचार सत्य हो कि होइन ? भनेर अर्को अन्यौल सुरु भयो ।
भिडियो नै हेरेर लेखिएको जस्तो समाचारमा भिडियो हेर्न नपाएपछि धेरैले आक्रोश जनाएका छन् । सुरुमा समाचार पत्याउनेहरु लामो समयसम्म पनि भिडियो हेर्न नपाएपछि आत्तिए । आक्रोशित बने । भिडियो खोई ? भन्दै प्रश्न गर्न थाले ।
तर पनि अन्नपूर्णपोष्टमा भिडियो प्रकाशित भएन । बरु युट्युबमा मन्त्रीले यौन दुर्व्यवहार गरेको भिडियो बाहिरियो भन्दै समाचार पढेर हालिएको हेडलाइन आयो । तर भिडियो आएन । भिडियो नआएपछि मानिसहरु झन् अन्योलमा परे । समाचार लेख्ने पत्रकार र सञ्चारमाध्यमसँग प्रश्न सोध्न थालिएको छ ।
जब पीडितले नै मन्त्रीमाथि बलात्कारको झुटो आरोप लगाइएको भनिन्
समाचार छ्यापछ्याप्ती आएपछि समाचारमा दाबी गरिएको मदिरा सेवन गरेर यौन दुर्व्यवहार गरेको, भिडियोमा देखिएको कुरा समाचारमा लेखेको र घटना सार्वजनिक हुने डरले आर्थिक लेनदेनमा यौन दुर्व्यवहारको अपराध लुकाउने प्रयास गरेको कुरा पनि समाचारमा उल्लेख छ ।
तर यति भइसक्दा पीडित भनिएकी महिलाले सामाजिक सञ्जालमा मन्त्रीसँग जोडेर चरित्र हत्या गर्न खोजिएको र झुटो आरोप लगाइयो स्टाट्स लेखेपछि कर्णालीमा झन् ठूलो हंगामा मच्चिएको छ ।
उनको नाम हामीले गोप्य राखेका छौँ । तर पीडित भनिएकै महिलाले आफ्नै फेसबुकबाट मन्त्रीमाथि लगाइएको बलात्कारको आरोप झुटो भएको र आफ्नो चरित्र हत्या गर्न खोज्ने पत्रकारको नाममा चिठ्ठी लेखेर आत्महत्या गर्ने चेतावनी पनि दिइन् ।
समाचारमा भिडियो नपाएर आत्तिएका पाठकले पीडितकै कुरा फेसबुकमा पढेपछि पत्रकारमाथि प्रश्न गर्न थाले । जतिबेला यो समाचार अन्नपूर्ण पोष्टको लोकप्रियमा आइसकेको थियो ।
धेरै ठाउँमा भाइरल बनेको थियो । तर समाचारमा भिडियो नहुनु, पीडितले नै मुख खोलेर झुटो आरोप भन्नु तथा केही गरी भिडियो सार्वजनिक नभएपछि पत्रकारमाथि प्रश्न उठ्नु स्वभाविक थियो ।
आरोपितलाई बर्खास्त गर्न एमालेको माग
एमालेबाट फ्लोर क्रस गरेर माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारमा मन्त्री भएका कृषिमन्त्री शाहीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि यसले सर्वत्र चर्चा पाएको छ । यससँगै कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता यामलाल कँडेलले आरोपित मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नेता कँडेलले कर्णाली प्रदेश सरकारको गरिमा बचाउनका लागि भएपनि मन्त्री शाहीलाई तत्काल बर्खास्त गर्नुपर्न माग गरे । आफ्नै सांसद भएर फ्लोर क्रस गरेर मन्त्री बनेपछि आक्रोशित भएका यामलालले यस्तो माग गर्नु स्वभाविक हो ।
उनले मात्रै होइन, अरु सरोकारवालाले पनि मन्त्री शाहीले राजीनामा दिएर छानबिन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । तर मन्त्री शाहीले नैतिकताका आधारमा राजीनामा दिने वा मुख्यमन्त्री शाहीले आरोपित मन्त्रीलाई बर्खास्त गर्ने विषयमा कुनै धारणा सार्वजनिक भएको छैन ।
समाचार लेख्ने पत्रकार असुरक्षित !
यसबीचमा घटनाको चर्चा र परिचर्चापछि अन्नपूर्ण पोष्टमा सुरुमा समाचार लेख्ने पत्रकार विस्न न्यौपानेमाथि दबाब बढेको देखिन्छ । उनीमाथि भिडियो सार्वजनिक गर्न दबाब बढिरहेका बेला गलत समाचार लेखेको आरोप पनि लाग्छ ।
खासगरी मन्त्री शाही निकट कार्यकर्ता र आफन्तले उनीमाथि दबाब बढाएका देखिन्छ । मध्यरातमा उनले आफू घरभित्र सुरक्षित नरहेकाले घरबाहिर निस्केको फेसबुक स्टाट्स लेखेका छन् । यद्यपी आफू सुरक्षित रहेको उनले बताएका छन् ।
मन्त्री शाहीमाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार अन्नपूर्ण पोष्ट र नागरिक दैनिकमा समेत प्रकाशित भएको छ । यो विषयमा कर्णालीमा चर्चा मात्रै होइन, यो घटनाको बचाउ गर्ने र विरोध गर्ने कित्ताकाट लागेको छ ।
विगतको नजीर कस्तो छ ?
सार्वजनिक पदमा रहेका व्यक्तिमाथि यौन दुर्व्यवहार र बलात्कारको आरोप लाग्नु निकै ठूलो अपराधका रुपमा हेरिन्छ । नैतिक धरातल धुलिसात हुने यौन दुर्व्यवहारको घटना सार्वजनिक हुनुले मात्रै पनि पद जाने हुन्छ । धेरैले राजीनामा दिने गर्छन् ।
पीडितको बयान फेरबदल नभएमा वा भएपनि पीडक जेल जानबाट रोकिदैन । तत्कालिन सभामुख कृष्णबहादुर महरा आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार गर्दा जेल परेका थिए । बलात्कार भएको समाचार बाहिर आएको भोलिपल्टै उनले पदबाट राजीनामा दिनुपरेको थियो ।
जसमा पीडितले बयान फेरेपनि भिडियो सार्वजनिक भएका कारण महरामाथि मुद्दा लागेर जेल जानुपरेको घटना सबैलाई थाहै छ । यसअघि मन्त्री भएका बेला महिलाको यौन संवेदनशिलताका विषयमा अभिव्यक्ति दिएकै कारण सिन्धुपाल्चोकका शेरबहादुर तामाङले पदबाट राजीनामा दिनुपरेको थियो ।
उनले राजीनामा दिएर पद नै छाड्नुपर्यो । जबकी उनीमाथि बलात्कार दुर्व्यवहार नभई महिलामाथि अपमानजनक शब्द बोलेको आरोप मात्रै थियो । हालै अमेरिकाका गर्भनरले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि उनले पनि पदबाट राजीनामा दिनुपरेको छ ।
केही वर्षपहिले रोपाई गर्दा महिलासँग हेलमेल गर्दा कृषिमन्त्री हरि पराजुलीको पद पनि गएको थियो । तर यी नजर स्थापित भएका बेला यौन दुर्व्यवहार र बलात्कारको आरोप लागेको समाचार प्रकाशित भएपछि कर्णाली प्रदेशका कृषिमन्त्री शाहीको राजीनामा पर्खाईको विषय बनेको छ ।
यद्यपी पीडितले बलात्कारको आरोप झुटो भनिरहेका बेला स्थपित नजीरमाथि गम्भीर भएर कदम उठाउने वा यसलाई एउटा काण्डमा सीमित पार्ने ? कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीमाथि निर्भर छ । तर प्रश्नहरु अझै धेरै उठ्नेछन् । जसको उत्तर दिने ल्याकत प्रदेश सरकार, आरोपित मन्त्री र राजनीतिक प्रणालीमाथि नै जटिल पर्न सक्छ ।
यो पनि पढौँ