काठमाडौं : आइतबार माओवादी केन्द्रको युवा संगठन वाईसीएल जाजरकोटका अध्यक्ष भीमबहादुर जिसी कांग्रेसमा प्रवेश गरे । कांग्रेसमा उनलाई तरुण विभाग अन्तर्गत कर्णाली प्रदेशको उप–संयोजकको जिम्मेवारी दिइयो । अध्यक्ष जिसीले नै कांग्रेस रोजेपछि जाजरकोटमा माओवादीको युवा संगठन कत्ति कमजोर छ ? भन्ने कुरा अनुमान गर्न सकिन्छ ।
अध्यक्ष जिसीले नै केही युवालाई पनि साथमै लिएर कांग्रेश प्रवेश गराएका थिए । जिसीसहितका माओवादी युवा नेताहरुलाई काठमाडौंमा एक कार्यक्रम गरी कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाहीले स्वागत गरेका थिए । शाही कर्णालीको सत्ता साझेदारका मुख्य सहयात्री हुन् ।
संयोग भनौँ, त्यसको केही समयमै जाजरकोटकै शक्ति बस्नेत माओवादीको कर्णाली प्रदेश इन्चार्ज बने । आइतबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले शक्तिलाई प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो । जनार्दन शर्मा अर्थमन्त्री बनेपछि एक व्यक्ति, एक पद सिद्धान्त अनुसार शक्ति बस्नेतले कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका हुन् ।
तर अवस्था यस्तो छ कि शक्तिकै जिल्लामा वाइसीएलका अध्यक्ष कांग्रेसमा प्रवेश गरिसकेका छन् । अध्यक्ष जिसी कांग्रेस प्रवेश गर्नु र शक्ति इन्चार्ज गर्नु संयोग मात्रै होइन, कर्णालीमा आफनो किल्ला देख्ने माओवादी आन्तरिक पार्टी संगठनमा क्षतविक्षत छ । जसको ज्वलन्त उदाहरण जिसी कांग्रेस प्रवेश प्रकरणले देखाउँछ ।
गृहजिल्ला जाजरकोटमा मात्रै होइन, माओवादीको अवस्था अहिले अरु जिल्लामा पनि यस्तै छ । जनार्दन शर्मा इन्चार्ज भएका बेला आफ्नो पकडमा रहेका मान्छेलाई मन्त्रीदेखि आवश्यक जिम्मेवारी दिएर आफनो प्रभाव जमाएर पार्टी सिद्धान्त कमजोर बनाएका बेला कमजोर रहेकै शक्तिले कमाण्ड सम्हालेका छन् ।
कर्णालीका टावर लिडर मानिने शक्ति बस्नेत जनयुद्धको रापतापमा शक्तिशाली थिए । उनले सोझै प्रचण्डसँग सम्पर्क गरेर आवश्यक निर्णय गराउने क्षमता राख्थे । त्यसकै बलमा उनी गृहमन्त्री समेत बनिसकेका व्यक्ति हुन् ।
तर उनको शक्ति पछिल्लो समय क्षयीकरण बन्दै गएको बेला प्रचण्डले फेरि इन्चार्जको जिम्मेवारी दिएर शक्ति फर्काउने अवसर दिएका छन् । देशभरी माओवादी पहिलेको भन्दा धेरै कमजोर भएका बेला कर्णालीको कमजोर माओवादीलाई फेरि शक्तिशाली र आगामी चुनावमा पनि सत्ताधारी बनाउने चुनौति शक्ति बस्नेतमाथि छ ।
पछिल्लो समय एमालेसँग एकता, पार्टीदेखि प्रचण्डको प्रभावमा जनार्दन हावी हुँदा शक्ति बहिर्गमनमा थिए । उनको प्रभाव घट्टो थियो । उनको प्रभाव घट्ने मात्रै होइन, आफ्नो शाख जोगाउनै मुश्किल थियो । त्यसमाथि उनलाई विश्वास गरेर, उनको पछि लागेका नेता कार्यकर्तालाई थामथुम पार्नै सकस थियो ।
झण्डै सकिनै लागेको शक्तिको प्रभाव जिवन्त राख्न प्रचण्डको इन्चार्ज तोक्ने जिम्मेवारीबाट अवसरमा परिणत भएको छ । अब यसलाई उनले माओवादीलाई नै शक्तिशाली बनाउन यो अवसरलाई प्रयोग गर्छन वा जनार्दनको जस्तै भाई, बुहारी तथा आफन्तलाई मात्रै मन्त्री बनाउन आफ्नै शक्ति दुरुपयोग गर्छन् हेर्न बाँकी छ ।
यो पनि पढौं....