काठमाडौँ : फ्लोर क्रसबाट कर्णाली प्रदेश सरकारमा मन्त्री बनेका कालिकोटका कुर्मराज शाही पछिल्लो समय विवादमा छन् । उनीमाथि एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ । कालिकोटको साविकको सुककाटिया गाविस र अहिलेको शुभकालिका गाउँपालिका ४ ठानामा जन्मिएका हुन् । सामान्य परिवारमा जन्मेका उनको बाल्यकाल औषत रुपमै बितेको थियो ।
सरल, सहज र सामान्य मानिने उनको स्वभाव भने विद्यालयदेखि नै अतिरिक्त क्रियाकलापमा बढी हुन्थ्यो । उनी विद्यार्थीहरुको नेतृत्व गर्दै केही फरक गर्ने स्वभावका थिए । जसकारण उनी अरु जागिरेभन्दा राजनीतिज्ञ बने । त्यससँगै उनले कालिकोटमा केही सामाजिक संघ संस्थामा पनि काम गरे । कालिकोटका समाजसेवा गर्न खोजेका उनले हुरिन डेक संस्थामा रहेर केही राम्रा काम गरेका थिए ।
कालिकोटकै राराकाटिया माविमा पढेका उनले विद्यार्थी जीवनमै राजनीतिप्रति आस्था राकेका थिए । विद्यालयबाट वडा र वडाबाट इलाका हुँदै जिल्लाको राजनीतिमा चम्किदै गएका हुन् । पहिलेदेखि नै एमालेको अनुशासित संगठनमा बसेका उनले त्यसलाई पछ्याउँदै सांसद बन्ने बाटोमा अघि बढेका हुन् ।
राजनीतिक यात्रा
कालिकोटमा उनी नेकपा एमालेका जिल्ला अध्यक्षमा समेत बनेका थिए । उनी अध्यक्ष बनेपछि जिल्लाको राजनीतिमा सक्रिय हुनुका साथै आफ्नो पार्टीगत जीवन पनि केही माथि उठाएका थिए । तर उनी एकैपटक अध्यक्ष बनेका भने होइनन, धेरैपटक संघर्ष गरेर उनी अध्यक्ष बन्न सफल भएका हुन् ।
सुरुवातादेखि नै उनी एमालेमा माधव नेपाल पक्षका नेता हुन् । सोही प्यानलबाट उनले २०७० सालमा जिल्लाको अध्यक्ष जित्ने अवसर प्राप्त गरे । तर २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी पराजित भए ।
त्यतिबेला उनी माओवादीका उम्मेद्वार महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । माओवादी केन्द्रका उम्मेद्वारले ८ हजार ८ सय मत ल्याउँदा एमालेका उम्मेद्वार कुर्मराजले ८ हजार मत ल्याएका थिए ।
झिनो मतान्तरमा पराजित भएपनि उनले पहिलो पटक चुनाव लडेर धेरै कुराको अनुभव लिन पाए । जसकारण उनलाई जिल्लाबाट प्रदेश र केन्द्रीय राजनीतिमा जाने बाटो खुल्यो । २०७४ सालको प्रदेशसभा चुनावमा पनि उनले प्रदेशसभाका लागि टिकट पाए । र, जिते पनि । त्यतिबेला माओवादी केन्द्र र एमालेबीच एकता भएका कारण उनको जित सम्भव भएको कालिकोटका नेताहरु बताउँछन् ।
उनले चुनाव जितेर प्रदेशसभा सांसद बनेपनि मन्त्री बनिहाल्ने खालको व्यक्तित्व बनाइसकेका थिएनन् । तर २०७८ बैशाख ३ गते माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीले विश्वासको मत माग्ने बेलामा गृहजिल्लाका सांसद कुर्मराजसँग पनि विशेष सहयोग मागेका थिए ।
त्यतिबेला माधव नेपाल पक्षमा रहेका कुर्मराजले पार्टीको एजेन्डा र गृहजिल्लाका मुख्यमन्त्रीलाई सघाउने संयोग मिल्यो । अन्ततः प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर थापा र कालिकोटका कुर्मराजले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगाए ।
त्यही दुस्साहस गरेका कारण उनले मुख्यमन्त्रीबाट मन्त्री पद उपहार पनि पाए । जुन पार्टीका लागि घातक बन्यो । र उनले सांसद पद गुमाए । तर उनी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनिरहन सफल भए ।
विवादको फेरो
उनी यसपटक मन्त्री रहेका बेला बिवाद र झन् चर्चामा आए । तर यो पटक मात्रै होइन, उनी प्राय विवादमा मुछिरहने नेता हुन् । उनी कालिकोटको मान्ममा हुँदा एक जना कांग्रेस नेतृसँग पनि उनको नाम जोडिएको थियो । त्यतिबेला पनि उनको बारेमा धेरै टिका टिप्पणी भएका थिए । तर त्यो कुरा बाहिर आएन ।
ती महिलाको घरमा आउजाउ चलिरहदा उनी त्यतिबेला निकै विवादमा मुछिएका थिए । तर राजनीतिक पहुँचमा रहेका बेला यो कुरा बाहिर आउन पाएन । उनी यस्ता अनेकौ विवादमा मुछिएका नेता भएपनि अहिलेजसरी ठूलो चर्चा, अपराध र दुव्र्यवहार गरेको आरोप लागेको थिएन ।
कहिलेकाँही व्यक्तिगत अनुशासन तोड्ने उनको बानीले गर्दा यतिबेला आफ्नै स्वकीय सचिवकी श्रीमतीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । यद्यपी पीडित महिला र मन्त्री शाहीले यसलाई अस्वीकार गरिरहेका छन् ।
तर राजनीतिमा व्यक्तिगत क्षमता बढाउने र नैतिक धरातल जोगाइराख्ने उनको प्रयास भने धेरैपटक विफल भइसकेको छ । संयोगले फ्लोर क्रस जस्तो आत्मघाती निर्णय गरेर मन्त्री बनेपनि यतिबेला उनीमाथि लागेको संगीन आरोपले उनको राजनीतिक करियर नै गम्भीर मोडमा पुगेको छ ।