सिमकोटः धार्मिक रुपमा चर्चित सद्गुरु भारतबाट काठमाडौं हुँदै हुम्ला आएर नेपाली भुमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्य तालिका तय भएको छ । तालिका अनुसार मंगलबार बिहान काठमाडौंबाट हेलिकोप्टरमा नेपालगञ्ज आएर सद्गुरु सिधैं हेलिकोप्टरबाटै सिमकोट उत्रिने रहेको छ ।
पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रबाट कैलाश मानसरोवरको दर्शन गर्नका लागि सद्गुरुका लागि भोली बिहान हेलिकोप्टरले नेपालगञ्ज र त्यताबाट सिमकोटसम्म उडान भर्नेछ । यसअघि दुई दिन अगाडी काठमाडौं आई पुगेका उनी पुर्व कार्यतालिका अनुसार हुम्ला आएर पैदल मार्गबाट लाच्पातर्फ लाग्नेछन् ।
टोलीका सदस्य ताक्ला रावत अनुसार हेलिकोप्टरमा आउने सद्गुरु एक रात सिमकोटमा बस्ने र बुधवार बिहान मात्र पैदल मार्गबाट लाप्चातर्फ लाग्नेछन् । सद्गुरु बस्नका लागि सिमकोट स्थित सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको छ ।
सो क्षेत्रमा गुरु, चिकित्सक, उनको सुरक्षा र सचिवालयको टिम बस्ने व्यवस्था गरिएको छ । सद्गुरुसँग १२ जना भारतीय नागरिक लगाएत अन्यको पनि सहभागिता रहेको छ । उनको यात्राका लागि मोटरसाइकलदेखि घोडाको समेत व्यवस्था गरिएको छ । आवश्यक परे हेलिकोप्टर पनि तयारी अबस्थामा सिमकोटमा रहने भएको छ । सद्गुरु हुम्ला आउने भएपछि सरक्षा व्यवस्था पनि मजबुद बनाइएको छ ।
सद्गुरु सहितको टोली हुम्लाबाट नेपाली भुमि लाप्चा क्षेत्रबाट पैदल मार्गमा पुगेर मानसरोवरको दर्शन गर्न आउने भएपछि ५५ जना व्यवस्थापनको टिम काठामाडौंबाट नेपालगञ्जबाट हवाई जहाजमा सिमकोट आइपुगेको छ । ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाइड र आवश्यक सामग्री सबै हुम्ला आइपुगेको छ ।
टोली हुम्ला पुगेपछि पर्यटकीय क्षेत्रका रुपमा देखिन थालेको छ । त्योसँगै सद्गुरुको चर्चा पनि बढेको छ । उनले हुम्ला पुगेको टोलीले कोरोनाको कारण होटेलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित खेल मैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको बताए । सम्पुर्ण टोली कोरोना भ्याक्सिनको व्यवस्था गरिएर आउन लागेकोले कसैले पनि त्यसप्रति चिन्ता नगर्न आयोजकले आग्रह गरेको छ । यसअघि कोरोनाका बेला गुरुको टिम आउन लागेको भनेर केही टिका टिप्पणी पनि भएको थियो ।
लाप्चा क्षेत्र जानका लागि यता पच्चीस जना स्थानीय भरिया पनि तयारी गरिएको छ । कोरोना परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उनीहरुले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नु पर्नेछ ।