जुम्ला : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकाले सक्रिय बनेका छन् । जुम्ला महिला स्वास्थ्य स्वयंसेविकाले नागरिकको घरदैलोमा पुगेर महामारी कोरोना संक्रमणको बारेमा जानकारी दिने गरेका छन् ।
उनीहरुले नागरिकलाई घरबाहिर निस्कदा अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्दै नियमित साबुन पानीले हात धुन, दुरी कायम गर्न लगायतका कुराबारे चेतना घरदैलोमा पुगेर चेतनादिने काम गरिरहेका छन् ।
सिंजा गाउँपालिकाका महिला स्वयंसेविका मैना रानाले, ‘यो महामारीको बेलामा नागरिकलाई सचेतनाको फैलाउनु हाम्रो दायित्व हो । गाउँ बस्तीमा हरेक स्वास्थ्य समस्या आउँदा जिम्मेवारी पुर्वक भुमिका निभाउँदै आएका छौं । यो महामारीमा पनि सुरक्षित भएर सचेतनाका फैलाउने क्रियाकलाप गरिरहेको ’ भनिन् ।
यस्तै हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले कोभिड जोखिम न्युनिकरणका लागि सचेतनामुलक अभियान थालेको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।
उनले भने, ‘उहाँहरुले आ–आफ्नो गाउँ, टोल र बस्तीमा पोस्टर, पम्पलेट र अन्य जानकारी मुलक सन्देश लिनर पुग्नु भएको छ । यसले स्थानीयमा खुसी ल्याउनुका साथै चेतना पनि वृद्धि हुने गरेको छ ’।
जस्तोसुकै जोखिममा पनि गाउँ टोलको स्वास्थ्य सुरक्षाको जिम्मेवारी वहन गर्न महिला स्वास्थ्य स्वयंसेविका सक्षम बनेका छन । यो जिम्मेवारी कोरोना संक्रमणको बेला पनि सहजै रुपमा पुरा गरे । महिला स्वास्थ्य स्वयंसेविका विपन्न पछाडी पारिएका, विकासको मुल प्रवाहमा नआएका, स्वास्थ्य सेवाको पहुँचमा नपुगेका ग्रामीण क्षेत्रमा रहेर समुदायमा जनचेतना फैलाउने काममा सक्रिय छन ।
उनीहरुले समुदायमा रोगको उपचार र निदान र उच्च सावधानिका बिषयमा परामर्श प्रदान गर्ने र स्थानीयबासीको आत्मबल बढाउने कार्य गरिरहेका हुन्छन । प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाले कोभिड–१९ दोश्रो चरण प्रतिकार्यको लागि स्वयंसेविकाहरुलाई विभिन्न स्थानमा अभिमुखिकरण गर्ने कार्य गरिरहेको छ ।