काठमाडौ । कोरोना संक्रमणको दर बढ्दै जाँदा यो भाइरस जितेर घर फर्किनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । नेपालमा लकडाउनको २७ आँै दिनसम्म ३१ जना संक्रमित हुँदा चार जना नेपाली कोरोना भाइरससँगको लडाई जितेर घर फर्किएका छन । जुन सुखद पक्ष मात्रै होइन, नेपालीका लागि खुशीको खबर पनि हो ।
उत्तरी छिमेकी चीनको वुहान राज्यबाट फैलिएको कोरोनाले विश्वमा डेढ लाख बढीको ज्यान लिइसकेको छ । साढे २३ लाख मानिस संक्रमित छन । चीनबाटै नेपाल प्रवेश गरेको कोरोनाले अहिलेसम्म ३१ जना नेपाली संक्रमित छन । यसमध्ये चार जना उपचारपछि घर फर्किसकेका छन भने २७ जनाको विभिन्न अस्प्तालमा उपचार भइरहेको छ ।
नेपालमा पहिलो संक्रमित व्यक्ति काठमाडौँ उपत्यकाका हुन । उनी चीनमा मेडिकल अध्ययन गर्न गएका थिए । वुहानमा भाइरसले प्रकोप फैलाएका बेला नेपाल आएका उनमा संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालको पहिलो संक्रमितबारे जानकारी दिएको थियो । यो माघ महिनाको कुरा हो ।
उनी झण्डै दुई हप्ता टेकु अस्पताल बसेर सञ्चो भएपछि घर फर्र्किए । उनी सञ्चो भइसक्दा कोरोना भाइरस युरोप पुगिसकेको थियो । युरोपका इटाली र स्पेनमा यसले ठूलो क्षति गर्न शुरु गरेको थियो ।
नेपालमा पहिलो संक्रमित सञ्चो भएर घर फर्केपछि भने कोरोनाप्रतिको त्रास नेपालमा खासै थिएन । जब इटाली र स्पेनमा कोरोनाबाट दैनिक हजारौको ज्यान जान थाल्यो । तब नेपाल मात्रै होइन । सिंगो विश्व नै यसबाट प्रताडित भइरहेको छ ।
नेपालमा दोस्रो संक्रमित पुष्टि भएको चैत ९ गते हो । फ्रान्सबाट चैत ४ गते कतारको दोहा हुँदै काठमाडौँ आएकी उनलाई भियतनामकी साथीले कोरोना परीक्षण गर्न आग्रह गरेकी थिइन । भियतनामकी उनकी साथीलाई संक्रमण पुष्टि भएसँँगै काठमाडौकी १९ बर्षीया ती युवतीमा पनि कोरोना पोजेटिभ देखियो ।
यतिबेलासम्म नेपालले कोरोनाविरुद्धको सबै तयारी तिब्र गतिमा अगाडी बढाएको थियो । छिमेकी देश भारतमा कोरोनाबाट ज्यान गुमाउन शुरु भइरहदा नेपाल लकडाउनको अवस्थामा पुगेको थियो । त्यसमाथि दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन शुरु गर्यो । जुन दोस्रो संक्रमित उपचारपछि निको भएर शनिबार घर फर्किसक्दा पनि लकडाउन जारी छ । तर कहिले खुल्ने हो ? ठेगान छैन ।
दोस्रो संक्रमित घर फर्केको केही घण्टामा शनिबार नै छैटौ संक्रमित बागलुंगकी ६५ बर्षीया बृद्धा पनि अस्पतालबाट डिस्चार्ज भइन । उनी दोस्रो संक्रमितसँगै एउटै विमानमा कतारबाट काठमाडौ आएकी थिइन । कोरोना भाइससँगको लडाई जितेर घर फर्किने ती बृद्धा तेस्रो बनिन् ।
उनलाई चैतको दोस्रो हप्ता कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो संक्रमितसँग विमानमा चढेका सबैको परीक्षण गर्न शुरु गर्दा छैटौ संक्रमित ती बृद्धामा पनि कोरोना पोजेटिभ रिर्पोट आएको हो । उनी शनिाबार मात्रै घर फर्किएकी हुन । अस्पतालमा पनि उनको स्वास्थ्य अवस्था सामान्य रह्यो ।
उमेरले ६० कटेका कारण उनलाई जोखिम धेरै हुने र बचाउनै मुश्किल हुने अनुमान गरिएको थियो । किनकी विदेशमा कोरोनाबाट ज्यान गुमाउने धेरैजसो बृद्ध बृद्धा छन । तर बागलुंगकी बृद्धाले औषधि नभएपनि कोरोनालाई आत्मबलले जित्न सकिन्छ भन्ने सन्देश फैलाएर घर फर्किएकी छन ।
उनीसँगै विमानमा रहेकी पाँचौ संक्रमित बागलुंगकै २२ बर्षीया युवती भने अहिले पनि धौलागिरी अञ्चल अस्पतालको बेडमा आराम गरिरहेकी छन । उनको तेस्रो रिर्पोट पनि पोजेटिभ छ । तर बिस्तारै सञ्चो हुदै गएको उनको प्रतिक्रिया छ ।
नेपालमा कोरोना भाइरससँगको लडाई जितेर घर फर्किने चौथो व्यक्ति धनगढीका २१ बर्षीय युवक हुन । उनी संक्रमितका हिसाबले पनि चौथो नै थिए । र अहिले उपचारपछि सञ्चो भएर घर फर्किनेमा पनि चौथो नै हुन पुगेका छन ।
युएईमा वैदेशिक रोजगारीमा रहेका उनी कम्पनी कोरोनाका कारण बन्द भएपछि घर फर्केका थिए । दुबईबाट भारतको दिल्ली, दिल्लीबाट काठमाडौ, काठमाडौँबाट हवाई यात्रा गरेर नेपालगञ्ज पुगेका उनी कोहलपुरबाट भने माइक्रोबस चढेर धनगढी पुगेका थिए ।
चैत दोस्रो हप्ता उनलाई पनि संक्रमण पुष्टि हुँदा पश्चिम नेपाल त्रसित भएको थियो । उनी अहिले सञ्चो भएर घर फर्किदा अरु ४ जना सेती अञ्चल अस्पतालको बेडमा उपचार गराइरहेका छन ।
नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २९ हजारको परीक्षण गरिदा ३१ जनामा मात्रै कोरोना संक्रमण देखिएको हो । यसमध्ये आइतबारसम्म ४ जना उपचार गरेर घर फर्किसकेका छन ।
कोरोना भाइरसको रोकथामका लागि लकडाउन शुरु गरेको २७ औँ दिनसम्म ४ जना घर फर्किनु सुखद पक्ष हो । र बाँकी आशंका गरिएका सबैको परीक्षण गरेर कोरोना भाइरसको महामारीबाट बच्नु सबैको उत्तरदायित्व पनि हो ।