महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालका लागि केही दिनअघि ल्याइएको भेन्टिलेटरसहितका उपकरण सप्लायर्स कम्पनीले पुराना र खिया लागेका थोत्रा उपकरण पठाएपछि समस्या भएको छ । “यस्तो विषम परिस्थतिमा पनि सप्लासर्यले गलत मनसायले पुराना सामान पठाएको जस्तो लाग्छ”, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “गलत गर्नेलाई कारवाहीका लागि राज्यले ध्यान देओस् ।”
महाकाली अस्पताललाई भेन्टिलेटरलगायतका केही उपकरण खरीद गर्न चैत १२ गते प्रदेश सामाजिक विकास मन्त्रालयले एक करोड रकम प्रदान ग¥यो । अस्पतालले सोही अनुसार चैत १६ गते सातदिने सूचना जारी गरेर प्रक्रियाअनुसार उपकरण उपलब्ध गराउने जिम्मा आरजी सप्लायर्स काठमाडौँले पाएको अस्पताल प्रशासनको भनाइ छ ।
अस्पतालका अनुसार उक्त सप्लायर्स रु ५३ लाख ८७ हजारमा उपकरण उपलब्ध गराउने सहमति गरिएको थियो । अस्पताल प्रशासनले उक्त उपकरण खरीदका लागि रु ५५ लाख ७० हजार लागत अनुमान गरेको थियो । “मन्त्रालयबाट आउनुभएका बायो मेडिकल इन्जिनीयरसहितको मूल्याङ्कन समितिले आरजी सप्लायर्सका सबै कागजी कागजात ठीक भनेपछि तीन दिनभित्र सम्झौताका लागि गत चैत २८ गते पत्राचार ग¥यौँ ।” अस्पताल प्रशासनका लेखा अधिकृत नन्दराज भट्टले भने, “तर सम्झौता नगरी अचानक चैत ३० गते उपकरण सप्लायर्सले अस्पतालमा पु¥यायो ।”
उनले सम्झौताका लागि पुनः दुई दिनको म्याद थप गरेर वैशाख ४ गतेभित्र सम्पर्क गर्न भनेपछि अझै उक्त कम्पनी सम्पर्कमा नआएको बताउनुभयो । “भेन्टिलेटरका लागि यहाँ रहेको चिकित्सकसहितको टोलीले हेर्दा सामान पुराना र खिया लागेका भेटेपछि सबै कुरा बाहिर आएको हो ।” भट्टले भने, “सम्झौता नै नभएकाले उक्त सप्लायर्ससित कुनै आर्थिक कारोवार भएको छैन ।”
पुराना उपकरण दिएको पर्दाफास भएपछि भेन्टिरलेटरको काम रोकिएको छ । “मिडियामा सप्लायर्सले नमुनाका लागि पठाएको हो भन्ने र बोल्ने तर यहाँ सम्झौताका लागि नआउने ?”, अस्पताल स्रोतले भन्यो, “सप्लायर्सकै इन्जिनीयर यहाँ आएर भेन्टिलेटरको उपकरण दुई घण्टा मात्रै चलेको हो भन्ने कुराले नियत ठीक देखिँदैन ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भीमदत्तनगरले पनि उक्त उपकरणका विषयमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यता अस्पताल व्यवस्थापन समिति भने हाल पठाएका भेन्टिलेटरसहितका सामग्री जफत गरेर नयाँ भेन्टिलेटर खरीदका लागि प्रक्रिया अघि बढाउने तयारीमा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
“पुराना सामान पठाउने सप्लायर्सलाई कारवाहीको पाटो छँदैछ, अहिले नयाँ खरीदका लागि बोलपत्र प्रक्रियामा जाने गृहकार्य हुदैछ ।” अध्यक्ष जोशीले भने, “स्वास्थ्य उपकरण खरीदमा गलत मनसाय राख्ने जो कोहीलाई पनि कारवाहीबाट छुट दिनु हँुदैन ।”
त्यसैगरी कोरोना भाइरस नियन्त्रणका लागि सङ्घीय सरकारले सुदूरपश्चिम पठाएका ३३ जना चिकित्सकमध्ये चारजना आइतबार भीमदत्तनगरको महाकाली अस्पताल आइपुगेका छन् । अस्पतालका अध्यक्ष जोशीले चिकित्सक टोली पुगिसकेको जानकारी दिँदै बिरामीको सेवामा तत्काल खटिने बताए ।