काठमाडौँ : शक्ति बस्नेत कर्णाली प्रदेशको इन्चार्ज बनेको समाचारले धेरै चर्चा पायो । लामो समयदेखि भूमिकाविहीन देखिएका शक्तिलाई प्रचण्डले कर्णाली प्रदेशको इन्चार्ज बनाएर पठाएका हुन् । यसले थोरै भएपनि शक्तिलाई राहत दिएको थियो, छ ।
शक्तिले कर्णालीको इन्चार्जको जिम्मेवारी पाएसँगै जनार्दन कर्णालीबाट बाहिरिए । अब उनले कर्णाली प्रदेश सरकारमा त्यति साह्रो हस्तक्षेप गर्न पाउने छैनन् । तर कर्णालीको जिम्मेवारी शक्तिले पाएपनि जनार्दन शर्माले माओवादीमा त्यो भन्दा शक्तिशाली जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको सिंगो संगठनको कमाण्ड सम्हाल्ने जिम्मेवारी जनार्दन शर्मालाई दिएका हुन् । यसअघि कर्णाली प्रदेश इन्चार्ज मात्रै रहेका जनार्दनले अब पुरै देशकै माओवादी संगठन हाक्नेछन् ।
राष्ट्रको ढुकुटी समेत उनैले चलाइरहेका बेला प्रचण्डले माओवादीभित्रै सबैभन्दा बढी जनार्दनलाई विश्वास गरेर संगठन हाक्ने जिम्मेवारी दिएका हुन् । यसले पनि प्रचण्डको सबैभन्दा नजिकको विश्वासपात्र जनार्दन नै रहेको पुष्टि गरेको छ ।
प्रचण्डका नजिकका विश्वासिला नेताहरुमा वर्षमान पुनले आर्थिक मामिला, नारायणकाजी श्रेष्ठले प्रवास समिति मात्रै सम्हालेका छन् । कृष्ण महरालाई राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिइएको छ । शक्ति बस्नेत फेरि पनि वन तथा वातवारण विभागको प्रमुख छन् । उनी ओली सरकारमा वन तथा वातावरणमन्त्री नै थिए । जनार्दनका अगाडि शक्तिको पद औपचारिकता मात्रै हो ।
स्कुल विभाग आफैसँग राखेका प्रचण्डले माओवादी केन्द्रमा सबैभन्दा बढी भरोसा फेरि पनि जनार्दनमाथि गरेको देखिन्छ । जनार्दनले तत्कालिन समयमा एमालेसँग एकता, चुनावमा माओवादी केन्द्रलाई सम्मानजनक सिट र बाहिर तथा भित्र अध्यक्ष प्रचण्डको बचाउ गरेर उनको विश्वास जित्ने काम गरेका थिए ।
जसकारण जनार्दनको शक्तिका अगाडि शक्ति बस्नेत अझै निरीह जस्तै छन् । रुकुम पश्चिमबाट चुनाव जितेका जनार्दन शर्माले रुकुमकाण्डमा संसदमा नै पीडकको बचाउ गर्दा केही आलोचना व्यहोरेपनि त्यसबाहेक माओवादी पार्टीभित्र शक्तिशाली नेताका रुपमा दरिएका छन् ।
कर्णालीका टावर लिडर जनार्दनले सिंगो देशको माओवादी संगठन हाक्दा अब त्यसको असर आगामी चुनावमा पनि देखिनेछ । आगामी चुनावममा माओवादीले धेरै ठाउँमा जित्छ वा अहिलेकै नियती व्यहोर्छ ? त्यो जनार्दन शर्माको काँधमा छ ।