कावासोती : यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ ।
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरणसम्बन्धी परिपत्र नआएपछि यातायात व्यवस्था कार्यालयले कर सङ्कलन तथा नवीकरण कार्य रोकेको छ । कर सङ्कलन र नवीकरणको काम रोकिएपछि यस क्षेत्रका सेवाग्राही भने समस्यामा परेका छन् ।मन्त्रालयबाट फरक प्रदेशका सवारीको कर सङ्कलन र नवीकरणका लागि परिपत्र नआएकाले कावासोतीस्थित कार्यालयबाट गण्डकी प्रदेशबाहेकका अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर तथा नवीकरण कार्य रोकिएको यातायात व्यवस्था कार्यालयका प्रमुख ज्ञानप्रसाद भुसालले बताए ।
यस कार्यालयबाट अघिल्ला वर्षमा सवारी धनीको ठेगाना गण्डकी प्रदेश रहेकाहरूका सवारी साधन दर्ता अन्य प्रदेशमा भएको भए पनि कर सङ्कलन र नवीकरण हुँदै आएको थियो । अहिले यस आर्थिक वर्षका लागि मन्त्रालयले कर सङ्कलन र नवीकरण यथास्थितिमा गर्न भनी कुनै पत्राचार नगरेकाले आफूहरूले फरक प्रदेशमा दर्ता भएका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकेको कार्यालय प्रमुख भुसालले जानकारी दिए । हामीलाई प्रत्येक वर्ष कर सङ्कलनका लागि मन्त्रालयबाट पत्र आउथ्यो, सोही आधारमा सवारी धनीको ठेगाना गण्डकी प्रदेशमा भएका तर सवारी साधन दर्ता अन्य प्रदेशमा भए पनि नवीकरण गर्ने काम गथ्र्यौँ । अहिले यस्तो परिपत्र आएको छैन, यसले गर्दा अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर सङ्कलन र नवीकरण कार्य रोकेका छौँ । अहिले गण्डकी प्रदेशबाट दर्ता भएका सवारी साधनको मात्रै कर सङ्कलन र नवीकरण गरिएको उनले बताए ।
फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राही भने समस्यामा परेको गुनासो गरेका छन् । यस क्षेत्रमा अधिकांश बागमती, लुम्बिनी, नारायणीबाट दर्ता भएका सवारी साधन सञ्चालनमा छन् । ती स्थानबाट सवारी दर्ता भएका सेवाग्राही अहिले अन्यत्र कर बुझाउन जानुपर्दा समस्या सिर्जना भएको उनीहरूको भनाइ छ । नवलपुरको कार्यालयले आफ्नो सवारी साधन नवीकरण नगर्दा अब अन्यत्र जानुपर्दा समस्या हुने स्थानीयवासी निरोज सिञ्जालीले बताए ।
प्रमुख भुसालले भने आफूहरूले यस विषयमा कर सङ्कलन र नवीकरणका लागि अनुमति दिन पत्राचार गरिसकेको बताए । “हामीले सेवाग्राहीका समस्या बुझेका छौँ, पत्राचारसमेत सम्बन्धित निकायमा गरेका छौँ”, कार्यालय प्रमुख भुसालले भने सायद चाँडै यस विषयमा निकास आउने छ, अघिल्ला वर्षहरूमा जसरी कर सङ्कलन र नवीकरणका लागि निरन्तरता दिनु भने हामी तत्काल कार्य गर्छौँ । रासस