काठमाडौ । कोरोना भाइरसको रोकथामका लागि झोलुंगे पुल बन्द गरिदा मानिसहरु डुंगाबाट कर्णाली नदी वारपार गरिररहेको पाइएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाबीच पर्ने कुइनेको झोलुंगे पुल बन्द भएपछि कर्णाली र भेरी नदी मिसिएको दोभान नजिकैबाट डुंगामार्फत वारपार गरिरहेको पाइएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भिडियोमा दुई वटा डुंगाले निर्वाध मानिसहरुलाई वारपार गरिरहेका देखिन्छन । सरकारले लकडाउनलाई कडाई गर्न निर्देशन दिएपछि सुर्खेतको चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाले कर्णाली र सुदुुपश्चिम जोड्ने सबै झोलुंगे पुल, डुंगा र फेरिको यात्रामा प्रतिबन्ध लगाएका थिए ।
तर सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाले लकडाउन उल्लंघन गरेको पाइएको छ । उनीहरुले लुकीछिपी दुई वटा डुंगामार्फत मानिसहरुलाई वारीपारि गर्ने काम गरिरहेको छन ।
नेकपा चौकुने गाउँ कमीटिका अध्यक्ष गंगाराम विकले कोरोना भाइरसको महामारीबाट जोगिन सबै नाका र झोलुंगे पुलको आवातजावत बन्द गरिएपनि मानिसहरुले त्यसलाई कडाईका साथ पालना नगरेको बताए ।
यसरी एक दुई जनाले लकडाउन उल्लंघन गर्दा गाउँका हजारौ मानिस कोरोनाबाट संक्रमित हुने जोखिम बढेको पनि उनले बताए । पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाले नदीमा डुंगा चलाउन दिने काम तत्कालै रोक्न पनि उनले माग गरे ।
भारतबाट आएकाहरु यसरी डुंगा चढेर गाउँ भित्रिएको आशंका गरिएको छ । बिना जाँच र क्वारेन्टाइन नबसी गाउँ भित्रिदा सबैलाई कोरोना संक्रमणको डर हुने त्रास पनि छ । यसकारण तत्काल लकडाउनको पूर्ण पालना गराउन अध्यक्ष विकले आग्रह समेत गरे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला