म्याग्दीः म्याग्दीको बेनी नगरपालिका–६ नेपानेमा प्रक्रिया पूरा नगरी अनुमति विना बाल विकास केन्द्र सञ्चालन भएको छ । जनप्रतिनिधिले आफू अनुकूलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पूरा नगरी बालविकास सहयोगी कार्यकर्ता नियुक्त गरी तलबभत्ता र शैक्षिक सामग्री खरिदमा चलखेल गरेका आरोप लागेको छ । २०७४ देखि २०७७ सालसम्म वडा नं ६ को सिफारिसमा बेनी नगरपालिकाले वार्षिक रु एक लाखका दरले नेपाने बालकक्षामा खर्चेको छ ।
मासिक रु छ हजारका दरले तलब पाउने गरी नेपानेकी मनिषा दमैलाई केन्द्रको सहयोगी कार्यकर्ता नियुक्त गरिएको छ । स्थानीय तह सञ्चालन निर्देशिकाअनुसार वडालाई शिक्षक, बाल शिक्षा सहयोगी कार्यकर्ता नियुक्त गर्ने अधिकार छैन । व्यवस्थापन समिति हुनुपर्ने, सम्बन्धित पालिकाबाट अनुमति लिनुपर्ने, प्रतिस्पर्धाबाट नियुक्त गरिएका सहयोगी कार्यकर्ताको तलबभत्ता, प्रशासनिक र मसलन्द खर्च मातृ विद्यालयमार्फत भुक्तानी हुने नीतिगत व्यवस्था सो बालविकास केन्द्र सञ्चालनमा कार्यान्वयन भएको छैन ।
नेपानेकी सहयोगी कार्यकर्तालाई बेनी नगरपालिकाले गत असार अन्तिम साता चेकमार्फत २०७७ साल पुषदेखि २०७८ असारसम्मको तलब बापतको रु ४१ हजार पाँच सय ८० भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा रु एक लाख विनियोजन भएको थियो । असार २३ अघि पारिश्रमिक र मसलन्दका लागि भनेर रु ४७ हजार आठ सय भुक्तानी भएको छ ।
वडाध्यक्ष कृष्णसिंह बानियाँले वडाले बालविकास केन्द्र सञ्चालनका लागि विसं २०७४ मै नगरपालिकामा सिफारिस गरेको र सहयोगी कार्यकर्ताले नै विनियोजित बजेट लगेको बताए । “जो मान्छेले त्यहाँ पढाउँछ उसैले पैसा लगेको छ,” उहाँले उल्टै प्रश्न गर्नुभयो, “आफैँले अनुमति नै नदिएको बालकक्षालाई नगरपालिकाले किन भुक्तानी दियो ।” डम्मरामा पनि यस्तै शैलीमा सञ्चालन भएको बाल विकास केन्द्रका नाममा नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा रु एक लाख भुक्तानी गरेको छ ।
बालकक्षा सञ्चालन भएको भनिएको राममन्दिर आमा समूहको भवनको कोठामा सिमेन्ट, पाइप, गुन्द्री, गल, घन, बेल्चालगायत निर्माण सामग्री थुपारिएको छ । दुईवटा ह्वाइट बोर्ड, एक टेबुल, बाल्टी र भित्तामा केही थान सिकाइ सामग्री मात्र भेटियो । नेपानेका बासिन्दाले बाल विकास केन्द्रको प्रभावकारिता र लगानीको उपलब्धिको विषयमा खुलेर प्रशंसा गर्ने अवस्था नरहेको बताएका छन् । स्थानीयवासी विमल थापाले सुरुमा सञ्चालन भए पनि अहिले सक्रिय भएको नदेखेको र समुदायले पनि चासो नदिएको गुनासो गरे । हिउँदमा सञ्चालन भए पनि अहिले बालकक्षा बन्द रहेको स्थानीयवासी सर्वजीत खत्रीले बताए ।
सहयोगी कार्यकर्ता दमैले आफ्नो क्याम्पसको परीक्षा भएको र कोरोनाका कारण साउनमा बालकक्षा सञ्चालन गर्न नसकेको बताए । उनले केन्द्रमा स्थानीयवासीले आफू गाउँमा नभएको समयमा मन्दिर निर्माणका सामग्री राखिदिएको गुनासो गरे । बरनाथ आधारभूत विद्यालयमा जान नसक्ने तीन÷चार वर्ष उमेर समूहका १५ जना बालबालिकालाई दैनिक चार घण्टा पढाउने गरेको उनले बताए ।
एक्लेपीपलको आधारभूत विद्यालय जामुनाखर्क माविमा गाभिएपछि ४० भन्दा बढी घरधुरीको बसोबास रहेको नेपाने र गुफा टोलमा आवश्यकता महसुस गरेर योजनाका रुपमा बालविकास केन्द्र सञ्चालन भएको वडाका जनप्रतिनिधिको भनाइ छ । कार्यविधि र निर्देशिका नहुँदा नेपानेलगायत नगर क्षेत्रका बाल विकास केन्द्रको नियमन गर्न समस्या भएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए । “बाल विकास केन्द्रहरुलाई नगरपालिकाले बजेट दिइरहेको अवस्था छ,” उनले भने, “आफ्नै कार्यविधि तथा निर्देशिका बनाएर नियमन, व्यवस्थापन, अनुगमन र मूल्याङ्कन गर्छौं ।”
बेनी नगरपालिकामा ५२ वटा बाल विकास केन्द्र छन् । नेपानेका साथै डम्मरा, थाकनपोखरी, डिम्म, बराह, चेतना, जनज्योति बाल विकास केन्द्रका लागि नगरपालिकाले यस आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेको छ । कार्यविधि बनाउन ध्यान नदिँदा बाल विकास केन्द्रका लागि विनियोजन भएको बजेट दुरुपयोगको जोखिम बढेको छ । रासस