सिमकोट : चर्चित धार्मिक सद्गुरु पैदल मार्गबाट लाप्चा यात्रा सुरु भएको छ । सद्गुरुकै चाहनानुसार उनको टोली हिँडेर लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न लागेको हो ।
टोलीमै रहेका होटेल तथा पर्यटन व्यवसायी बिजय लामाले विहीबार सिमकोटबाट लाप्चातर्फ सद्गुरुले हिडेर यात्रा सुरु गरेको बताए । उनले गुरुले हिडेर १५ किलो मिटर रहेको नाम्खा गाउँपालिकाको हेक्पा खोलासम्म जाने र त्यसपछि हेक्पा खोलाबाट लेकधिंगासम्म मोटरसाइकलमा जाने बताए ।
सो क्षेत्रमा कच्ची सडक रहेको छ । त्यसपछि बिहीबार गुरुको टोली लेकधिंगामै बास बस्नेछ । शुक्रबार पनि टोली सोही स्थानमै बस्नेछ । करिब तीन हजार पाँच सय मिटर उचाई रहेको लेकधिंगाबाट पर्यटकीय दृश्यकहरुको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ ।
गुरुका लागि धिंगाका स्थानीय बासिन्दाहरुले लामा साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । गुरुको टोलीलाई बासको व्यवस्था गर्न केही शेर्पाहरुको टोली बुधबार नै त्यसतर्फ लागि सकेको छन् ।
त्योसँगै हुम्लामा भएका बोलेरो जीपको पनि व्यवस्था गरिएको छ । उनी बुधबार काठमाडौंबाट नेपालगंज र नेपालगंजबाट सिमकोट हवाई जहाजमा आई पुगेका थिए । टोलीमा उनी लगाएत ५९ जना पर्यटक र ५५ जना पर्यटक व्यवसायी पनिसँगै छन् । पैदलमार्गबाट लाप्चा क्षेत्र पुग्न टोलीले एघार दिन लगाउने कार्यक्रम रहेको छ ।
प्रत्येक बास बस्ने स्थानमा दुई रात गुरुले बिताउने कार्यक्रम रहेको छ । बिहीबारबाट एघारौ दिनमा लाप्च पुगेर टोलीले कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि चार दिनदेखि ५५ जना कुक र गाईड तथा दुई दिनदेखि ४६ जना विभिन्न देशका गुरुसँग जाने पर्यटकहरु सिमकोट बास बसेका थिए । टोलीमा २५ जना स्थानीय भरियाहरुको व्यवस्था गरिएको छ । केही स्थानीय युवाहरु पनि टोलीसँग व्यक्तिगत रुपमा लाप्चा जान लागेका छन् ।
यो पनि पढौं.....