काठमाडौँ : माओवादीमा परिवारवाद कतिसम्म हावी छ भन्ने कुरा केन्द्रमा प्रचण्ड र कर्णालीमा जनार्दनलाई हेर्नुपर्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरी रेणूलाई चितवनको भरतपुर महानगरपालिकाको मेयर बनाए ।
अचेल उनले आफ्नो स्वकीय सचिवमा छोरी गंगा दाहाललाई राखेका छन् । मुख्य मुख्य क्षेत्रमा उनी कार्यकर्ताभन्दा बढी परिवारवाद र आफन्तकै भरोसा गर्छन् । प्रचण्डकै शैली पछ्याएका जनार्दनले पनि कर्णालीमा भाई र बुहारीलाई मन्त्री बनाए ।
कर्णाली प्रदेश सरकारमा जनार्दनले पहिलो चरणमा बुहारी बिमला केसीलाई मन्त्री बनाएका थिए । दलित महिलालाई मन्त्री बनाउनुको साटो उनले आफ्नै नातेदार बुहारी नाता पार्ने विमलालाई मन्त्री बनाएका थिए ।
त्यसपछि दोस्रो चरणमा उनले नातामा भाई पर्ने गोपाल शर्मालाई अर्थमन्त्री बनाए । शर्मा अहिले कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना विकासमन्त्रीको कुर्सीमा छन् । त्यतिमात्रै होइन, संघीय सरकारमा समेत अर्थमन्त्री रहेका जनार्दनले एक जना ज्वाई नाता पर्नेलाई महत्वपूर्ण पद दिलाएका छन् । जनार्दन शैली पनि ठीक प्रचण्डकै जस्तो छ ।
शक्ति बस्नेतको सुरुआत श्रीमतीलाई इन्चार्ज, कार्यकर्तालाई बेवास्ता
प्रचण्ड र जनार्दनकै सिको गर्दै कर्णाली प्रदेशको इन्चार्ज बनेका शक्ति बस्नेतले पनि पार्टीको जिम्मेवारी बाँडफाँटमा परिवारवाद हावी गराएका छन् । उनले श्रीमती सत्या पहाडीलाई कर्णाली प्रदेश सम्पर्क समितिको इन्चार्ज बनाएका छन् ।
जबकी कर्णाली माओवादी जनयुद्धमा बलिदान दिने र योगदान गर्ने नेता कार्यकर्ताको कमी छैन । तर शक्तिकै लबिङमा प्रचण्डले कर्णाली प्रदेश समन्वय गर्ने जिम्मेवारी सत्यालाई सुम्पिए । अरु नेता कार्यकर्तालाई हेर्ने र अवसर दिने भन्दा पनि माओवादी नेताहरु पार्टीमा आफन्त, परिवारवाद र पैसामा पद बेच्ने घृणित कार्य हावी बन्न थालेपछि कार्यकर्ता चिन्तित छन् ।
नेताहरुबाट धोका खाँदै कार्यकर्ता, पार्टी छाड्नुपर्ने बाध्यता
गएको चुनावपछि माओवादी र एमाले मिलेर नेकपा पार्टी बन्यो । चुनावमा कार्यगत एकता र सहकार्य गरेपछि भव्य जित हासिल गरेका एमाले र माओवादीले मिलेर झण्डै दुईतिहाई बराबर बहुमत ल्याए ।
यसले कम्युनिष्टलाई फेरि एकपटक जनताले ठूलो पार्टी बनाए । तर मिलेको नेकपामा कार्यकर्ता भने साटफेर बने । दलमा हैसियत, पद र अवसर नपाएका नेताहरु आफ्नो संघर्ष र बलिदानको नेता छाडेर अर्को पार्टी तथा नेता रोज्न थाले ।
कर्णालीमा माओवादीले परिवारवाद र आफन्तवाद हावी गराउँदा केही महत्वपूर्ण नेताले पार्टी नै छाडे । जसमध्ये गंगाराम तिमिल्सिना, धर्मराज रेग्मीले माओवादी छाडेर एमालेमा प्रवेश गरे ।
प्रदेशसभा सांसद समेत रहेको रेग्मीले पद गुमाएपनि माओवादीमा फर्किन चाहेनन् । उनले एमाले रोजे । र अहिले एमालेकै कार्यकर्ता छन् । यस्तै सुर्खेतको वीरेन्द्रनगरमा राम्रो पकड जमाएका पूर्व नगर समिति सभापति गंगाराम तिमिल्सेनाले पनि माओवादी छाडे । उनी अहिले एमाले छन् ।
यस्तै माओवादीबाट विद्यार्थी राजनीतिमा चम्किएका कमल शाहीले पनि माओवादी छाडेर एमाले रोजेका छन् । नेकपामा हुँदा अध्यक्ष प्रचण्ड, तत्कालिन कर्णाली प्रदेश इन्चार्ज जनार्दनबाट जिम्मेवारी र अवसर नपाएका युवा तथा विद्यार्थी नेता कमल शाहीले प्रतिगमन लादेकै बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको साथ रोजेका थिए । उनी अहिले पनि एमालेमै छन् ।
यस्तै माओवादी जनयुद्धमा कर्णालीबाट उदायका एक क्रान्तिकारी योद्धा मानिने गणेश भण्डारीले पनि माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । उनी पनि एमाले र माओवादीको कित्ताकाँट हुँदा ओलीकै साथमा उभिएका थिए ।
पार्टीमा अवसर र जिम्मेवारी नपाएपछि उनीहरुले पार्टी छाड्ने निर्णय लिएका थिए । माओवादी पार्टी आफैमा अन्तर संघर्षका कारण फुट्नु र फुटेपछि झन् ठूलो विभेदमा परेका नेताहरुले जनयुद्ध गरेकै पार्टी छाडेर तत्कालिन समयमा यथास्थिती भनिने पार्टी एमालेमा लागेका हुन् ।
पछिल्लो समय माओवादीमा परिवारवाद, आफन्त र पैसा तथा पूँजीवाद हावी भएपछि माओवादीमै रहेका नेता कार्यकर्ता पनि निराश छन् । जनार्दनपछि शक्ति बस्नेत इन्चार्ज बनेर आएपछि पनि पहिलो प्राथमिकतामा परिवार र आफन्तलाई राखेपछि कर्णालीका एक पुराना माओवादी नेता नाम नखुलाउन आग्रह गर्दै भन्छन्, 'हामीले रगत दिएर जनयुद्ध लडेका थियौँ । जनार्दन र शक्तिलाई नेता बनाएका थियौँ । तर उनीहरु अहिले हाम्रा होइन, आफ्नो परिवार, आफन्त र पैसा भएकाहरुको मात्रै नेता बनेका छन् । कोहीले पार्टी छाडिसके । कोही अझै छाड्नेवाला छन् । नेता नसुध्रिएपछि आफू पनि बिग्रनुपर्दो रहेछ । क्रान्तिलाई अगाडि बढाउन नसकेपनि धोका दिन नसकिदो रहेछ । पार्टी छाडेर मनलाई चित्त बुझाउनुपर्ने रहेछ ।'